नमस्ते !
दशैंको शुभकामना है सबैलाई ।दशैं लागिसकेछ । चिसा बिहानीहरुले यो सरद ऋतुको आभास दिलाइसकेको हुनु पर्छ सबैलाई, नभए सामाजिक संजालमा माध्यमहरु तत्पर छदै छन् सम्झना दिलाउन।
बदलिदो समय र परिस्थितिमा पनि यो दशैं तिहारले हामीमा एउटा छुट्टै उत्साह ल्याइदिन्छ नै । गोकूल धूप बालेर, अनि डमरु बजाउदै, कोठानै सुगन्धमय बनाइदिने हाम्रा बा हजुरबाको सम्झना दिलाइदिञ्छ । गोकूल धूपको धुवाबिचबाट पारिको डाडामा कुहिरो हेरेको सम्झना दिलाइदिञ्छ । चिसा बिहानीहरूसंगै परिवारका सम्पूर्ण सदस्यहरुसंग चिया खाएको पनि स्मृति दिलाइदिञ्छ । र त यी बिहानीहरूमा हामी मुस्काउछौ, जानी नजानी। सम्झनाका लहरहरु हुस्सुझै घुमिरहन्छ वरि-परि।
पढाई र कामका व्यस्तताका बाबजुत पनि हामीलाई भेटघाट गर्ने बहाना मिल्छ। खसी कहाँ कहाँ पाक्दै छ भनेर नाक सक्रिय हुन खोज्छ । यो चाड आफैमा भन्दा पनि यसले ल्याउने उत्साह र सम्झनाहरु मिठो हो । चंगा उडेको देख्दा, निधारमा जमरा देख्दा , साना केटाकेटीहरु नया लुगामा रमाएको देख्दा फेरी पनि रमाउने हाम्रो मन भित्र पनि त्यो बालस्य अझै पनि छ । त्यो नेपालीपन अझै पनि उस्तै ताजा छ । र त यो उत्साह सधै, हरेक वर्ष, ब्यस्तका बाबजुत पनि हामीभित्र मौलाइरहन्छ ।
यस्तै भावनाहरु सधै मौलाइ रहोस्। पुराना स्म्रितिहरुमा रमाउदै गर्दा नया स्मृतिहरु पनि सिर्जना गर्दै जानू होला। अनि खुसी र आनन्दको बास रहोस् तपाईका हृदयहरूमा । यहि छ दशैंको शुभकामना ।
हरि
No comments:
Post a Comment