Friday, October 24, 2014

तिहारको हार्दिक शुभकामना

रेडियोछेउमा बसेर देउसी भैलोका गीतहरु सुन्ने दिन छैन। न त आगनमा ढकमक्क फूलेको सयपत्री र मखमली हेर्ने दिन छ। तिहारको यो मौसम त्यसै खल्लो छ । माहोलको सिर्जना भएको छैन भनौ सायद । इन्टरनेटको सहायता लिएर देउसी भैलोका भाकाहरु घन्काए पनि त्यो तिहारको माहोल चाहि सृजना गर्न गाह्रो हुने रहेछ । एउटा दैलोमा मात्र नभएर पुरै समाजमै आउने त्यो माहोल हो । एउटाको आगनमा मखमली र सयपत्री फुल्दा गाउँ नै रमाइलो हुन्छ, चमक थपिन्छ समाजमा। एउटा व्यक्ति र परिवारमात्रको प्रयास या उल्लासले त्यो माहोल बन्दैन थियो , र त हामी यहाँ सक्दैनौ त्यो तिहारलाई फेरी कोर्न । त्यो मात्र हाम्रो मस्तिस्कमा कोरिएको छ । देउसी भैलोको भाकाहरु देशमा रहदाका स्मृतिहरू बोकेर आउछ। आफ्ना परिवारजन अनि साथी-भाइहरुका स्मृति बोकेर आउछ। त्यसै त्यसै अनुहार उज्यालो हुन्छ, पालामा बत्ति बालेर घरनै उज्यालो पारेको सम्झना होस् या त साथी-भाइहरुसंग देउसी भैलो खेलेको सम्झना होस्। ति स्मृतिहरुभित्र हामी समेटिएका छौ, र थुप्रै वर्ष पछि पनि हामी तिनै स्मृतिहरुलाई यो ब्यस्त जीवनमा समेट्न खोज्छौ, ति स्मृतिहरू फेरी बाच्न खोज्छौ। त्यो प्रयासमा हामी मध्य थोरै मात्र सफल हुन्छौ होला सायद।
समयसंगै थुप्रै परिबर्तन आउछन। परिवारका सदस्यहरु वर पर छरिए होलान, कसैको परिवारमा नया सदस्यहरु थपिए होलान र कसैका घटे पनि होलान। हाम्रो स्मृतिलाई भने खासै असर पारेको छैन। हाम्रो मानसपटलमा रहेको तिहार र अहिलेको तिहार एउतै त होला ? भन्ने कहिले काहि संका लाग्छ। नया पिढीसंगै तिहार मनाउने नया तरिकाहरु थपिए होलान। तर मेरो मस्तिस्कमा भने अझै पनि "भैलिनी आयो आगान " मा गौरी मल्ल नाचेको दृश्य आउछ। "टाढाका हामी धाएर आयौ, हाम्रो त घर हो गैरी गाउ, मनका धनी रैनछ यहाँ हिड है संगी फर्की जाऊ " भन्दै गौरी मल्लले दुखेसो पोखेको चित्र आउछ। सायद धेरै परिवर्तन आएको छैन होला। त्यहि आशा गर्न सकिन्छ। परिबर्तनको चाहना बोकेर हामी बिदेसिन्छौ। यी चाडबाडको बेला भने समय र परिस्थितिउस्तै रहेको भए हुने भनेर आशा गर्छौ। मनभित्रको द्विभिदा … कसले बुझ्न सक्ने हो र? आफैलाई सम्झाउन पनि गाह्रो पर्छ बेला बेला। लेन- देनको परिकालमा बाचिरहेका हामी सायद केहि पाउन दौदिदा केहि गुमाइरहेका छौ। पाएको र गुमाएको चिजहरुको मुल्यांकन आफ्नै तरिकाले गर्न सकिन्छ, सायद बहस पनि। कसले जित्यो र कसले हार्यो भन्ने बहस आफैमा भने कसैको पनि जित हुदैन। जहाँ रहेर भए पनि आफ्नो संस्कारलाई भने भुलेका छैनौ। स्मृतिहरूबिच रहेर भए पनि रमाइलो मानेका छौ। परम्पराहरुलाई झन् माया गर्न थालेका छौ, सायद अभावमा हामीले तिनको महत्त्व बुझ्न थालेका छौ। आफ्नो परिस्थितिलाई दोष नदिकन आफ्नै तरिकाले मनाउनु होला। सके नया स्मृतिहरू सिर्जना गर्नु होला, नभए पुरानै स्मृतिहरुमा भए पनि रमाउनु होला। सबैलाई तिहारको हार्दिक शुभकामना।

No comments:

Post a Comment