Tuesday, May 27, 2014

नया भविस्य

दाहिने हातको साहारा लिएर देब्रे हातका औलाहरु भाच्दै गन्ती गर्न थाले| बाल्यपनको यो मेरो बानी आज फेरी मलाई एक्कासि याद आयो| कान्छी औला भाचे, अनि गन्ती गरे "एक" | अर्को औला भाचे अनि गन्ती "दुई" भयो| देब्रे हातका सबै औला भाचिसक्दा पनि बल्ल मनले उच्चारण गर्यो "पाच" |तर कता कता मनमा शान्ति मिलेन| "पाच ...... हैन| " मैले खोजेको नम्बर यो होइन| मनमनै सोचे| बालहृदय सवार भएको मेरो दिमागले फेरी अर्को हातको औला गन्ती गर्न खोज्यो| त्यसै बखत सक्रिय नाकले एउटा चिरपरिचित बासनाको गन्ध समात्यो| त्यो गन्धले शरीरका हरेक इन्द्रियाहरुलाई सक्रिय बनायो| गन्धको प्रबेशमा मुटुको धड्कन बढ्न थाल्यो, आखाले त्यो स्वरूप हेर्ने प्यास ब्यक्त गर्यो| नेपथ्यबाट त्यो स्वरूप मेरो आखा सामू अझ स्पस्ट हुदै  मेरो तर्फ बढिरहयो| औलाको गन्तीमा ब्यस्त मेरो दिमाग एकछिनको लागि लाचार भयो| म मात्र उभिरहे | त्यो दृश्यलाई मेरो कल्पना सम्झे| सपना सम्झे| वास्तविकता अंगाल्न आज मलाई थोरै समय लाग्ने छ, तर म उभिरहे| गन्तीका क्रममा बान्गिएका औलाहरुलाई मैले सिधा पार्न बिर्सेछु, मस्तिस्कले त्यता ध्यान दिएनछ, अनि आखाले पनि नेपथ्यबाट अगाढि बढिरहेको आकृतिलाई हेर्ननै ब्यस्त भएछ| त्यो स्वरूप मतिर लम्किरहयो| म हेरिरहे, कुरिरहे| जति जति त्यो स्वरूप मतिर बढ्दै आइरह्यो, त्यो बासना अझ मलाई मोहित पार्दै गइरहयो| सारा शरीरले चाल पायो कि त्यो सुगन्धमा मेरो सम्पूर्ण भूत लुकेको छ, मेरो वर्तमानको  जड त्यहिँ भूतमा छ, त्यहिँ बासनाको वरिपरी  मेरो बाल्यपनका लहरहरु  घुमेको छ| म एकटक भइ उभिरहे| थाहै नपाइ त्यो आकृति मेरो सामु उभिसकेकी रहिछन| मेरो दाहिने हातको एउटा औला समातिन र त्यसलाई बन्ग्याउदै भनिन," हो छोरा, ६ वर्ष भयो|"
त्यो आवाज मेरो कानमा यसरी गुन्जयमान भयो कि मानौ वसन्त फेरी फक्रन थालेको छ| शितल हावामा मन चङ्गा भइ उढ़न थालेको छ| सुकेको पातभन्दा हल्का भएको छ मेरो मन| नाङ्गा रुखहरुबाट जमिनमा झरेको पात होइन मेरो मन, बरू आकाशमा फुरुरु उड्दै गरेको  त्यो पात हो मेरो मन| म उडे, धेरै माथि उडे| घामलाई छोए, तर जलिन म| मलाई उनको छायाले बचायो| त्यो हर्ष, त्यो बिस्मात| म अंगाल्न सकिरहेको थिइन, त्यो पल, त्यो क्षण| मैले कल्पना गरे भन्दा चाडै आएको थियो त्यो पल| म कति टडपिरहेको थिए त्यो पलको लागि| थुप्रै योजनाहरु बनाएको थिए यो पलको लागि| यो पहिलो भेटको लागि| तर आज म फिक्री गर्दिन त्यो योजनाको| यो भेट, यो पल आफैमा उत्कृष्ट छ| मैले ढोंग रच्नु पर्दैन| हृदयको भावलाई मुहान बनाएर जमेको यो आशु कुनै पनि बेला झर्नको लागि सम्बेदनशील भएर बसेका छन्| आफैमा एउटा प्रतिक हो| यो पलको विशेषता मेरी आमाको आखामा झल्किएको छ| "मिथिला मिस" को चाश्माभित्र धमिलिएको आखामा टल्किएको छ| हो, मेरी आमा, मिथिला लामिछानेको अनुहारमा पोतिएको छ| ढलपल गर्दै मेरो आखाबाट बग्न थालेको आशुका थोपाहरुमा झल्किएको छ| ६ वर्ष पछिको यो भेट| बश, अंगालो हाले मेरी आमालाई| थोपाहरु रमाउदै झरिरहे, केहि बेरको लागि| त्यो अंगालोको न्यानोपनमा मैले सारा दुनियालाई बिर्से| एरपोर्ट भरिका मानिसहरुलाई बिर्से|यो सङ्गम कति बिशेष छ भन्ने कुरा यो मुर्ख दुनिया के जानोस? अरु कैयौ बेला मैले आफ्नो मुर्खता देखाए होला| तर यो पल, सारा दुनिया मुर्ख छ मेरो लागि| ६ वर्ष पछिको आमा छोराको मिलनमा पनि तालि पिट्ने कोहि छैन| ६ वर्ष पछिको यो भेटको हर्षलाई देख्ने कुनै आखा छैन| हो, ब्यस्त छ यो मुर्ख दुनिया| तर मलाई गुनासो छैन| म मात्र अंगालोमा बाधिन्छु| मेरी आमाको न्यानोपनमा म मेरो बाल्यपनलाई सम्झिन्छु| थापाथलीका गल्लीहरुमा दौडेको चित्रहरु यो आखा सामू उतार्छु| बिहान स्कूल जादाका हतारहरु सम्झिन्छु| मिथिला मिसलाई पढाउन जान हतार भएका क्षणहरु सम्झिन्छु| भाइको हात समाएर बस स्टपसम्म दौडेको चित्रको रङ्ग पोत्छु| म त्यो अंगालोमा रहेर १२ कक्षासम्म पढ्दा पनि आफ्नै हातले भात खान दिने आमाका हातहरु सम्झिन्छु| म उनको महानतालाई सम्झिन्छु, अनि ओठमा मुस्कान सजाएर अझ बेस्सरी अंगालोमा कस्छु| स्कूलबाट फर्केर आउदा घरमा आमा नभएपछि भोकै बस्नु पर्दा भाइको रिसाहा अनुहार सम्झिन्छु| त्यो अनुहारको आकृति सम्झि सम्झि त्यसै हास्न थाल्छु | अनि आमाको अंगालोबाट बिस्तारै निस्केर अनुहारमा हेर्छु |

" तिमी त बुढी भैछौ आमै", म जिस्किन खोज्छु|
जवाफमा मेरी आमा भन्छिन, "का बूढी हुनु, उहा पिलेन चढ्दा "You look beautiful madam" भनेर मलाई लाजै मर्नु बनायो|"
हामी फेरी हास्यौ| मिथिला मिसको जिस्किने बानी अझै पनि उस्तै ताजा रहेछ| मेरी आमा सधै हसिलो, नेपालदेखिको यो यात्रामा थाकेर लखतरान पर्नु होला भन्ने सोचेथे| तर अझै पनि त्यो अनुहारको उज्यालोपनमा त्यस्तै प्रकाश छ|मन फुरुङ्ग भइ नाचिरहयो| मेरो सामिप्यमा मेरो आमाको छाया पाएर मैले जीवनको एउटा उपलब्धि हासिल गरे| प्रवासमा बसेर यो दिनको कल्पना गर्नु साह्रै गारो कुरा थियो| तर म आज सबै बिर्सन्छु|बाक्ला ज्याकेटहरुभित्र आफूलाई बन्धि बनाएर हिउका फोकाहरुसंग लड्दा आजको दिनलाई पर्खेको सम्झिन्छु| रापिलो घाम फोहोरा बनेर शरीरलाई नै कालो बनाउने गरि बज्रिएका ती काम खोज्दै हिड्दाका दिनहरुलाई सम्झिन्छु| सुनौलो भविष्यको आशामा एक्लै रुमल्लिएका सडकहरु सम्झिन्छु| ती दिनहरु सम्झिन्छु, जुन दिन म आजको दिनलाई कल्पना गर्न पनि डराउथे| तर आज म निस्फिक्री यो पललाई समाउछु| यो दिनलाई समाउछु| मेरी आमालाई समाउछु| बिगतको महत्व आफ्नै ठाउमा छ, तर म आज  आफूलाई अनि मेरी आमालाई नया भविस्यमा  दोहोराउछु| 

No comments:

Post a Comment