Tuesday, May 27, 2014

अडिग मुर्ति

त्यो कालो मुस्लो धुवा उडिरहेको छ । आकाश छुने रहरले हो या अरु कुनै लोकमा पुग्ने आकन्छ्या बोकेर हो। म देखि टाढा, हामी देखि टाढा। म नियालिरहे त्यो धुवालाई । त्यसले बनाएको आकृतिलाई । धुवा आफैले आकृति बनायो या मेरो मनस्थितिले आकृतिहरु कोर्यों, म जान्दिन । चितामा जलिरहेकी मेरी बुहारीको आकृति देखे। हस्पिटलको बिछ्यौनामा पल्टिरहेकी त्यो बुहारीको अनुहार देखे।

बनमा दाउरा खोज्न जादा बेहोस भएर लडेकी मेरी बुहारी अब कहिलै पनि उठ्दिन भनेर कसैले पनि सोचेको थिएन। बेहोस भएर लड्दा खेरि टाउको पछाडिको कुन चाहि हो हड्डी भाच्चियो रे, डाक्टरले भनेको । भाच्चिएको हड्डीले कुन चाहि नशालाइ थिच्यो रे। अब खुट्टा नचल्ने भयो रे। हात नचल्ने भयो रे, बाचे पनि छाती मुनिको सम्पूर्ण जिउ नचल्ने भयो रे। संगै अब शास पनि नचल्ने धेरै सम्भावना छ रे , डाक्टर साहेब भन्नु हुन्थ्यो। हिजोको त्यो सम्बात, हिजोको त्यो डर आज यथार्थमा परिणत भएको छ। अस्ति, हिजो र आजमा आएको यो परिबर्तन स्वीकार्न धेरै गाह्रो भएको छ। 

मृत्यु शैयामा लडिरहेकी मेरी बुहारीलाई मैले हिजो नियालेथे।आखाभरि रसाएका ती आशुका थोपाहरुलाई मैले पुछिन। आशु पुछ्दैमा यो मनभित्र ओर्लिरहेको भावनाहरु परिबर्तन हुने थिएनन्। ढलपल गरिरहेको त्यो आशुका थोपाहरु सबै भावनाहरु टल्किएका पनि थिएनन् । मात्र नियालिरहे, मेरी बुहारीलाइ : चुलबुल बुहारी, जगरिलो बुहारी ।निहत्था भइ लडिरहेको त्यो पल मैले हेरिरहें । के देखे जान्दिन । सायद डर थियो मनमा। भय थियो उसलाई मृत्युको। सायद उसले चाल पाइसकेकि थिई, मृत्यु उसको वरिपरि घुमिरहेको छ भनेर। विभिन्न बैज्ञानिक उपकरणहरुभित्र  सिमित भएकी मेरी बुहारी मलाई टोलाएर हेरिरहेकि थिई । त्यो दृश्य हेरिरहने मेरो क्ष्यमता शिथिल बन्दै गइरहेको थियो। कोठाबाट निस्किन मात्र के खोजेथे, बुहारीले भनिन् , " काका मलाई छोडेर नजानु न ल "। मान्छेले पल पल कति बलियो भएर परिस्थितिहरुको सामना गर्नु पर्दो रहेछ भनेर मैले आफैलाई प्रश्न गरे। साच्चिकै बलियो हुने या बलियो हुनुको ढोंग रच्ने? आखा भरिका आशुलाई मैले कहाँ लुकाए जानिन। झुटै भए पनि, ओठमा मुस्कान सजाए, फनक्क बुहारी तिर फर्के पनि भने, " म कहाँ छोडेर जान्छु त मेरी बुहारीलाई? " बुहारीले अरु बोलेकी थिइन । फेरी निन्द्रामा गएकी थिई । कोठा बाहिर निस्केर एक कुनामा गई म धेरै रोए। हिक्का छोडेर रोए। कुनै दिनसम्म अरु कसैकी छोरी थिई । बिहे गरेर हाम्रो कुलमा समाहित हुन आई । रहरले आई, करले आई या बाध्यताले आई । हाम्रो आफ्नो भई । परिवार भई । यो कस्तो सम्बन्ध हो, म परिभाषा दिन सक्दिन। म जान्दिन यो सम्बन्धको अर्थ के हो? मेरो आफ्नो छोरी छैन। छोरी नहुनुको माया बुहारीहरू माथि हो या पारिवारिक सम्बन्धको महत्व बुझेको भएर हो, जे होस् म रोए। धेरै बेर रोए। बुहारीको मुखबाट निस्केको त्यो वाक्य सम्झि सम्झि रोए। हिड्दै गरेको दुनियाले देख्यो म रोएको, मेरो सानो छोरोले देख्यो म रोएको। तर मैले पर्वाह गरिन त्यो पल। आशु झरिरहयो, कुनै बन्देज बिना, कुनै बाध बिना ।

आज फेरी बिहान डाक्टरले बुहारीलाई भेट्ने अवसर दिनु भएको थियो। उसको सैया छेउमा गएर मैले " बुहारी " भनेर बोलाए। आज बोलिन मेरी बुहारी मसंग। हिजो छोडेर गएकोले रिसाएकी हो सायद । मात्र आखाबाट बरर आशु झारी । म यो परिक्षामा भने नराम्रोसंग हारे। संगै रोए, बुहारीलाई साथ दिए सायद। बलियो हुनु पर्ने थियो मैले। तर यो कठोर परिक्षा हो। थाम्न सकिन मैले आफूलाई । उसले थाहा पाइसकेकि, आफ्नो छोटो समयको, वरिपरि मृत्यु घुमिरहेको। म यसै निस्के त्यो कोठाबाट । आज दिउसो प्रण त्यागी मेरी बुहारीले। म निहत्था भई मात्र कुरिरहेको थिए त्यो पललाई, लाचार भइ मात्र म उभिरहेको थिए । 

अहिले यो मन्दिर अघिको घाटमा छु। आगोले आफ्नो धर्म निभाउदै छ। त्यो शरीर आगोमा जल्दै खरानीमा परिणत हुदैछ । म मात्र हेरिरहेको छु। "मलाई नछोड्नु न है काका" भनेर मेरी बुहारीले आग्रह गरेकी थिई । मैले त्यो पल त उसलाई छोड्नु पर्यों, आज मलाई छोडी। आफ्ना दुई छोरीहरुलाई छोडी। यो संसारलाई छोडी। अकस्मात आएको यो पलसंग संघर्स गर्दै सारा परिवारलाई बिछब्द छाडी। गह अझै पनि भरिएको छ, मेरो मात्र हैन, मलामी आउने सबैको । यी सबै बाबजुत पनि त्यो छेउको मुर्ति भने अडिग छ। न खुशी छ, न दुखी छ। कुनै भाव छैन, ढुंगा न हो। त्यसैले त अडिग छ । त्यो अडिगतामा गुनासो छैन, मात्र म धुवाको मुस्लोलाई हेरिरहन्छु। मेरी बुहारी बिगतका चित्रहरु कोर्दै परलोक तिर यात्रा गरिरहन्छिन।। म मात्र हेरिरहन्छु।

No comments:

Post a Comment