Saturday, October 24, 2015

दशैं आयो

धान झुल्यो … पहराका खेतभरि धान झुल्यो 
बगैंचाभरि सयपत्री फुल्यो 
हो … गाउँघर सहरमा फेरी एकपटक दशैं आयो 
हुस्सु, अनि कुहिरो माझबाट चिहाएर हर्षको लहर ल्यायो ।

खाउला पिउला … सानी बहिनी औला भाच्छे 
यो पाली त नया कुर्ता हाल्छु , संगिनी भन्छे 
दाजू आउछु भनेको छ यो पाली , बहिनी दिन गन्छे 
अनि पियारी  … यसपालि हजुरको हातबाट टिका लाउछु भन्दै परदेशी पतिको बाटो कुर्छे ।

यो माहोल नै कस्तो कस्तो 
मन यसै खुशी भए जस्तो 
त्यो नव जोडी ससुराली हिडेको हेर्दा 
रातो टिका र जमरामा, लजाई लजाई हात समाई हिडेको हेर्दा 
हो, यो मन भन्छ पक्कै दशैं आयो 
सयपत्रीमा भमरामात्र हैन, हेर्ने जति सबैको मन रमायो 
साना बालबालिकाले नया स्मृतिहरू सजायो 
बुडापाकाहरुले तिनैमा आफ्नो बाल्यपनको झल्को पायो 
अनि… हामी जस्ता बिदेसिएका घरहरुमा पर्देसी छोरो फर्केर घर सजायो 
गर्नु केहि बिशेष नभए पनि उपस्थितिमात्रले पनि उमङ्ग ल्यायो 
हो  … पक्कै दशैं आयो 

Wednesday, October 21, 2015

दशैंको शुभकामना

नमस्ते !
दशैंको शुभकामना है सबैलाई ।दशैं लागिसकेछ । चिसा बिहानीहरुले यो सरद ऋतुको आभास दिलाइसकेको हुनु पर्छ सबैलाई, नभए सामाजिक संजालमा माध्यमहरु तत्पर छदै छन् सम्झना दिलाउन।  

बदलिदो समय र परिस्थितिमा पनि यो दशैं तिहारले हामीमा एउटा छुट्टै उत्साह ल्याइदिन्छ नै । गोकूल धूप बालेर, अनि डमरु बजाउदै, कोठानै सुगन्धमय बनाइदिने हाम्रा बा हजुरबाको सम्झना दिलाइदिञ्छ । गोकूल धूपको धुवाबिचबाट पारिको डाडामा कुहिरो हेरेको सम्झना दिलाइदिञ्छ । चिसा बिहानीहरूसंगै परिवारका सम्पूर्ण सदस्यहरुसंग चिया खाएको पनि स्मृति दिलाइदिञ्छ । र त यी बिहानीहरूमा हामी मुस्काउछौ, जानी नजानी। सम्झनाका लहरहरु हुस्सुझै घुमिरहन्छ वरि-परि। 

पढाई र कामका व्यस्तताका बाबजुत पनि हामीलाई भेटघाट गर्ने बहाना मिल्छ। खसी कहाँ कहाँ पाक्दै छ भनेर नाक सक्रिय हुन खोज्छ । यो चाड आफैमा भन्दा पनि यसले ल्याउने उत्साह र सम्झनाहरु मिठो हो । चंगा उडेको देख्दा, निधारमा जमरा देख्दा , साना केटाकेटीहरु नया लुगामा रमाएको देख्दा फेरी पनि रमाउने हाम्रो मन भित्र पनि त्यो बालस्य अझै पनि छ । त्यो नेपालीपन अझै पनि उस्तै ताजा छ । र त यो उत्साह सधै, हरेक वर्ष, ब्यस्तका बाबजुत पनि हामीभित्र मौलाइरहन्छ ।

यस्तै भावनाहरु सधै मौलाइ रहोस्। पुराना स्म्रितिहरुमा रमाउदै गर्दा नया स्मृतिहरु पनि सिर्जना गर्दै जानू होला। अनि खुसी र आनन्दको बास रहोस् तपाईका हृदयहरूमा । यहि छ दशैंको शुभकामना ।

हरि