Saturday, October 24, 2015

दशैं आयो

धान झुल्यो … पहराका खेतभरि धान झुल्यो 
बगैंचाभरि सयपत्री फुल्यो 
हो … गाउँघर सहरमा फेरी एकपटक दशैं आयो 
हुस्सु, अनि कुहिरो माझबाट चिहाएर हर्षको लहर ल्यायो ।

खाउला पिउला … सानी बहिनी औला भाच्छे 
यो पाली त नया कुर्ता हाल्छु , संगिनी भन्छे 
दाजू आउछु भनेको छ यो पाली , बहिनी दिन गन्छे 
अनि पियारी  … यसपालि हजुरको हातबाट टिका लाउछु भन्दै परदेशी पतिको बाटो कुर्छे ।

यो माहोल नै कस्तो कस्तो 
मन यसै खुशी भए जस्तो 
त्यो नव जोडी ससुराली हिडेको हेर्दा 
रातो टिका र जमरामा, लजाई लजाई हात समाई हिडेको हेर्दा 
हो, यो मन भन्छ पक्कै दशैं आयो 
सयपत्रीमा भमरामात्र हैन, हेर्ने जति सबैको मन रमायो 
साना बालबालिकाले नया स्मृतिहरू सजायो 
बुडापाकाहरुले तिनैमा आफ्नो बाल्यपनको झल्को पायो 
अनि… हामी जस्ता बिदेसिएका घरहरुमा पर्देसी छोरो फर्केर घर सजायो 
गर्नु केहि बिशेष नभए पनि उपस्थितिमात्रले पनि उमङ्ग ल्यायो 
हो  … पक्कै दशैं आयो 

Wednesday, October 21, 2015

दशैंको शुभकामना

नमस्ते !
दशैंको शुभकामना है सबैलाई ।दशैं लागिसकेछ । चिसा बिहानीहरुले यो सरद ऋतुको आभास दिलाइसकेको हुनु पर्छ सबैलाई, नभए सामाजिक संजालमा माध्यमहरु तत्पर छदै छन् सम्झना दिलाउन।  

बदलिदो समय र परिस्थितिमा पनि यो दशैं तिहारले हामीमा एउटा छुट्टै उत्साह ल्याइदिन्छ नै । गोकूल धूप बालेर, अनि डमरु बजाउदै, कोठानै सुगन्धमय बनाइदिने हाम्रा बा हजुरबाको सम्झना दिलाइदिञ्छ । गोकूल धूपको धुवाबिचबाट पारिको डाडामा कुहिरो हेरेको सम्झना दिलाइदिञ्छ । चिसा बिहानीहरूसंगै परिवारका सम्पूर्ण सदस्यहरुसंग चिया खाएको पनि स्मृति दिलाइदिञ्छ । र त यी बिहानीहरूमा हामी मुस्काउछौ, जानी नजानी। सम्झनाका लहरहरु हुस्सुझै घुमिरहन्छ वरि-परि। 

पढाई र कामका व्यस्तताका बाबजुत पनि हामीलाई भेटघाट गर्ने बहाना मिल्छ। खसी कहाँ कहाँ पाक्दै छ भनेर नाक सक्रिय हुन खोज्छ । यो चाड आफैमा भन्दा पनि यसले ल्याउने उत्साह र सम्झनाहरु मिठो हो । चंगा उडेको देख्दा, निधारमा जमरा देख्दा , साना केटाकेटीहरु नया लुगामा रमाएको देख्दा फेरी पनि रमाउने हाम्रो मन भित्र पनि त्यो बालस्य अझै पनि छ । त्यो नेपालीपन अझै पनि उस्तै ताजा छ । र त यो उत्साह सधै, हरेक वर्ष, ब्यस्तका बाबजुत पनि हामीभित्र मौलाइरहन्छ ।

यस्तै भावनाहरु सधै मौलाइ रहोस्। पुराना स्म्रितिहरुमा रमाउदै गर्दा नया स्मृतिहरु पनि सिर्जना गर्दै जानू होला। अनि खुसी र आनन्दको बास रहोस् तपाईका हृदयहरूमा । यहि छ दशैंको शुभकामना ।

हरि 

Wednesday, September 30, 2015

Tug of war

On a collision course, they with them
Lost is the sense of “us”
They Bulls, and of course them Bulls too
May be I should call both horses with fly mask
Whatever, they on collision course with them
Collision strong enough, creating mayhem
As if the earthquake didn’t shake it enough
As if, them, pretentious, didn’t suffer enough
And them, blindfolded, few months old historic earthquake soon turned into history
They, crippled, and them amputees still collide
Creating unforeseeable particles
Of course, they have to be “god particles”
The waves, generated from this collision
Strong enough to traverse from lowland to the peak in the north
Casting a shadow on the history of camaraderie, and mutual respect
Putting the existence at stakes, lives at stakes
And me…..
I remember my chest bulging out with pride
passionately listening when I was told we are a common garden
The garden where all races can blossom
See…., I smiled then when I was taught about Prithvi Narayan’s unification campaign
And prided on being under united land
And now… now I struggle to find myself among “they” and “them”
While a tug of war goes on, I stand there in the middle
Swaying in between sides, I keep floating confused
Dazzled by all these social tensions
They told me to grow up, and at the same time they never told me the outcomes
Now I see the social tensions, in every day in every society
And I do not know what to make out of mine
History sure does not seem to teach us anything
Or may be its more of our unwillingness to learn anything
Or may be its more of them being them
And they…

They merely act without caring about consequences
Lives surely don’t matter
It’s a process of creating history, they claim
It’s a process of transforming society, they preach
While families are transformed…
Whether the transformation comes at the cost of missing family members
Or missing body parts
Or wiping out entire society
Indeed, inevitable transformation
They, happy, chanting slogans
And them, shedding tears just like pouring water into sand

And me…

still dazzled and confused….
Swaying with tug of war.






Saturday, June 6, 2015

अडिग धरहरा

(मै हु भन्थ्यो त्यो नाठे धरहरा )^ २
गर्भ गर्थ्यो आफ़्नै विशालतामा, आफ़्नै उचाइमा
पृथ्वी नारायणले चन्द्रागिरिबाट देखेको सुन्दर सहरलाई हेर्थ्यो
अनि सायद त्यहि डाडालाई पनि हेर्थ्यो
आफैमा ९० सालको इतिहास बोकेको, चढ्ने जो कोहिलाई इतिहास पढाउथ्यो
मै हु भन्थ्यो
यो उपत्यकालाई मैले देखेको छु भन्थ्यो
आफैलाई के ठान्छस्, तँ त आउछस् जान्छास्
शताब्दीदेखि मैले हेर्दै आएको छु यी गल्लीहरुलाई भन्थ्यो
देशसंगै हासेको, चाडपर्बमा नाचेको अनि देशको क्रान्ति देखेको सुनाउथ्यो
अनि देशवासी गल्दा सुक्दा मलाई नै हेरेर अडिग रहन सिक्छ भन्थ्यो
तर आज…
आज उसलाई थाहा थियो सायद यो भयाभहको
र त आफै पहिल्यै ढल्यो
संगै कतिका सपनाहरु थिचेर गयो
आढ़को उचाईमा रमिरहेको त्यो, यथार्थको धरातलमा गिर्यो
हजारौ लाश हेर्ने शक्ति कहाँ बाकि रहयो र उसमा
लाखौको मन गलेको हेर्ने शक्ति कहाँ बाकि रहयो र उसमा
देशबासीको मनको डर, अनि आखाको आशु
त्यो कहिल्यै नमेटिने स्मृति
कसरी सक्थ्यो र ऊ हेर्न, मनभरि बोकिरहन
र त ऊ आफै पहिले गल्यो, ढल्यो, आफ़्नै इतिहास मेटायो
शक्ति थिएन सायद उसमा पशुपतिको मुर्ति निर्लज्ज भै यो दृश्य हेरिरहेको हेर्न
र त म जस्ता लाखौलाइ त्रसित छाड्यो, एक्लै
सहरमा गल्लीहरुमा, भत्केका घरहरुमा, साम्य भएका गाउहरुमा
हिजोसम्म जीवन बोकेको गाउ सहरलाई कहाँ लग्यो कुन्नि
अब छाड्यो यो बिरक्तिएको मसानघाटमा
हरेकमा शरिरबाट आशा बिलाएको, खै यो बिचित्र अलकापुरीमा
तर ऊ के जान्दथ्यो …
यी भग्नावशेषबिच पनि फूल फुल्दछ भनेर
उसलाई निर्लज्ज बनाई त्यो शिशु कति मज्जाले हास्छ भनेर
समयसंगै वसन्त फेरी फर्कन्छ भनेर
अनि आशाका मुनाहरु फेरी तुसाउछ भनेर
डरपोक हैन, अबको पालि अडिग धरहरा बन्छ भनेर।

Friday, October 24, 2014

तिहारको हार्दिक शुभकामना

रेडियोछेउमा बसेर देउसी भैलोका गीतहरु सुन्ने दिन छैन। न त आगनमा ढकमक्क फूलेको सयपत्री र मखमली हेर्ने दिन छ। तिहारको यो मौसम त्यसै खल्लो छ । माहोलको सिर्जना भएको छैन भनौ सायद । इन्टरनेटको सहायता लिएर देउसी भैलोका भाकाहरु घन्काए पनि त्यो तिहारको माहोल चाहि सृजना गर्न गाह्रो हुने रहेछ । एउटा दैलोमा मात्र नभएर पुरै समाजमै आउने त्यो माहोल हो । एउटाको आगनमा मखमली र सयपत्री फुल्दा गाउँ नै रमाइलो हुन्छ, चमक थपिन्छ समाजमा। एउटा व्यक्ति र परिवारमात्रको प्रयास या उल्लासले त्यो माहोल बन्दैन थियो , र त हामी यहाँ सक्दैनौ त्यो तिहारलाई फेरी कोर्न । त्यो मात्र हाम्रो मस्तिस्कमा कोरिएको छ । देउसी भैलोको भाकाहरु देशमा रहदाका स्मृतिहरू बोकेर आउछ। आफ्ना परिवारजन अनि साथी-भाइहरुका स्मृति बोकेर आउछ। त्यसै त्यसै अनुहार उज्यालो हुन्छ, पालामा बत्ति बालेर घरनै उज्यालो पारेको सम्झना होस् या त साथी-भाइहरुसंग देउसी भैलो खेलेको सम्झना होस्। ति स्मृतिहरुभित्र हामी समेटिएका छौ, र थुप्रै वर्ष पछि पनि हामी तिनै स्मृतिहरुलाई यो ब्यस्त जीवनमा समेट्न खोज्छौ, ति स्मृतिहरू फेरी बाच्न खोज्छौ। त्यो प्रयासमा हामी मध्य थोरै मात्र सफल हुन्छौ होला सायद।
समयसंगै थुप्रै परिबर्तन आउछन। परिवारका सदस्यहरु वर पर छरिए होलान, कसैको परिवारमा नया सदस्यहरु थपिए होलान र कसैका घटे पनि होलान। हाम्रो स्मृतिलाई भने खासै असर पारेको छैन। हाम्रो मानसपटलमा रहेको तिहार र अहिलेको तिहार एउतै त होला ? भन्ने कहिले काहि संका लाग्छ। नया पिढीसंगै तिहार मनाउने नया तरिकाहरु थपिए होलान। तर मेरो मस्तिस्कमा भने अझै पनि "भैलिनी आयो आगान " मा गौरी मल्ल नाचेको दृश्य आउछ। "टाढाका हामी धाएर आयौ, हाम्रो त घर हो गैरी गाउ, मनका धनी रैनछ यहाँ हिड है संगी फर्की जाऊ " भन्दै गौरी मल्लले दुखेसो पोखेको चित्र आउछ। सायद धेरै परिवर्तन आएको छैन होला। त्यहि आशा गर्न सकिन्छ। परिबर्तनको चाहना बोकेर हामी बिदेसिन्छौ। यी चाडबाडको बेला भने समय र परिस्थितिउस्तै रहेको भए हुने भनेर आशा गर्छौ। मनभित्रको द्विभिदा … कसले बुझ्न सक्ने हो र? आफैलाई सम्झाउन पनि गाह्रो पर्छ बेला बेला। लेन- देनको परिकालमा बाचिरहेका हामी सायद केहि पाउन दौदिदा केहि गुमाइरहेका छौ। पाएको र गुमाएको चिजहरुको मुल्यांकन आफ्नै तरिकाले गर्न सकिन्छ, सायद बहस पनि। कसले जित्यो र कसले हार्यो भन्ने बहस आफैमा भने कसैको पनि जित हुदैन। जहाँ रहेर भए पनि आफ्नो संस्कारलाई भने भुलेका छैनौ। स्मृतिहरूबिच रहेर भए पनि रमाइलो मानेका छौ। परम्पराहरुलाई झन् माया गर्न थालेका छौ, सायद अभावमा हामीले तिनको महत्त्व बुझ्न थालेका छौ। आफ्नो परिस्थितिलाई दोष नदिकन आफ्नै तरिकाले मनाउनु होला। सके नया स्मृतिहरू सिर्जना गर्नु होला, नभए पुरानै स्मृतिहरुमा भए पनि रमाउनु होला। सबैलाई तिहारको हार्दिक शुभकामना।

Wednesday, July 2, 2014

छोटो यात्रा (भाग २ )

भाग २ 

घामको रापिलो किरण आखामा रोपिएपछि आखा तिर्मिराउदै उठ्ने दिन थिएन। रातभरिको सपना, कहिले कता पुग्छु कहिले कता। म आफै अर्थ लगाउन सक्दिन ति दृश्यहरुको। स्पष्टसंग सम्झना पनि छैन - कता पुगे पुगे। उठ्दा भने यहि बेडमा रहेछु, थोरै खुशी लाग्यो। मेरो बेड छेउको त्यो हरियो मणि प्लान्ट, आज पनि त्यहि छ।  सात वर्ष पहिले पनि, र आजको यो पलमा पनि।  सधै स्थिर। न कुनै खुशीको भाव न कुनै बेदना। न कसैप्रति रिस, न कसै प्रति माया।  आफ्नो एउटा ठाउँ रोजेको छ, बश त्यसैमा बिलप्त छ। अनि म, यो सात वर्षको अन्तरालमा कता कता पुगिन? सम्झदा एउटा सपना लाग्छ। 

घमाइलो दिन थिएन।  झ्यालका सिसाको पारदर्शीतालाई चुनौति दिदै कुहिरो ढप्प लागिरहेको छ।  म बाहिर केही देखिरहेको छैन।  जाडोको यो समयमा थोरै जिउ तन्काउदै फेरी यही सिरकभित्र पस्न मन भइरहेछ।  सिरकभित्र नै जुग्मुटिएर म भन्छु, "ओहो, कति जाडो  … " आफैले आफैलाई जाडोको आभास गराउदै छु।  यो ठण्डीको आभास दिलाउन बाहिरका कुहिरोका फोकाहरु थोरै सल-बलाउदै छन्। बिहानीको यो समयमा पारि त्यो वनको पल्लो भागबाट घाम झुल्किदै गरेको दृष्य हेर्न मन थियो।  हरिया रुखहरु माझबाट सुर्य सुस्तरी प्रकाश छर्दै माथि उक्लदाको दृष्य साच्चै नै मनमोहक लाग्दथ्यो मलाई। तर प्रकृति मेरो पक्षमा छैन आज। यो मौसम मसंग मेरो जागर खोस्दै छ। म सिरकभित्र कुकुर डल्लो परेर निदाएझैँ गुटमुटिदै छु।  कुहिरोको त्यो बादलहरुलाई मेरो अल्छीपन भगाई लैजानको लागि अनुरोध गरिदिन्छु। तर मेरो अनुरोध कुन समयमा स्वीकृत हुने हो, त्यतिन्जेल सम्मको लागि भने कसैले मलाई जगाउने प्रयत्न गर्ने छैन। म आरामले निदाइदिन्छु। 

माथि कौशीसम्म पुगेको लहरे फूलको बोटभित्र लुकेका भंगेराका चिरबिर आवाजमा म जुरुक्क उठेर सिरानीलाई पछाडि अधेस लगाएर बस्छु। घडीमा १०:०० बजेको देख्दा मेरो ओठमा लज्जास्मद हासो सजिन्छ।  प्राय कमै सुत्छु म यतिञ्जेलसम्म। तर आज…  यस्तै पर्यो, सुते मस्तले। एक्लै मुस्काउदै झ्यालछेऊमा आइपुगेको त्यो लहरेफूललाई नियाल्छु। भंगेराहरू यता - उता उफ्रिदै खेल्दै रहेछन। एक आपसमा जिस्किदै, फूलहरु माझ नाच्दै। मेरो अल्छीपनालाई सायद मजाक उडाउदै छन्। म टाउको थोरै बंग्याएर हेरिरहन्छु।  यो क्षण , यो पल  … म बाचिरहेको छु, मलाई थोरै शङ्का लाग्छ। होइन, यो मेरै समय हो, म आफैलाई सम्झाउछु।  यहाँ, यी भंगेराहरू माझ, यो लहरे फूलका हरिया पातहरु माझ, कोठा वरिपरि घुमेको मणि-प्लान्ट माझ म बचिरहेको छु।  आफैले आफैलाई विश्वास दिलाउन खोज्दै छु।  बितेको समयलाई नियालेर हेर्ने हो भने आजको यो दिनको कल्पना गर्न गाह्रो थियो।  आज यसरी यहाँ  … म फेरी पुग्छु, फेरी यी हरिया पातहरुमा हराउछु  … भंगेरासंगै बिहानी सजाउछु  … पूर्णत कल्पना बाहिरका कुरा थिए। 

अब त कुहिरोको बादलहरु पनि हराउन थालेछन।  भोलि भेट्न आउछु भनेर बाचा त गरेनन् , तर पक्कै पनि भोलिको बिहानमा पनि आउनेछन।  घामको किरण तेजिलो हुन थालेको छ।  शरिरमा मैले थोरै जागर पुनर्जागरण गराउनु पर्नेछ।  दिनभरि म यसरी सिरकभित्र रहेर दिनलाई ब्यर्थ जानदिन सक्दिन।  एक्कासी शरीरमा शक्तिको संचालन भएसरि सिरकलाई सुरुक्क एक कुनामा फालेर म आफैलाई ताजा बनाउन दौडिन्छु। बाथरूमतिर लाग्दा-लाग्दै सम्झिन्छु  … आज त कसै कसैलाई भेट्न जानु थियो।  तर केहि छैन, पुरा दिन छ मसंग।  कुनै हतार छैन।  त्यहि हतारै हतार देखि वाक्क लगेर म यहाँ आएको।  फेरी यहाँ पनि हरेक कुरा हतारै हतारमा गर्नु पर्यो भने यहाँ रहनु र वहा रहनुको के फरक भयो र? आफ्नो सुस्तपनालाई प्राथमिकता दिदै म यहाँ रहनुको अर्थ त लगाइरहेको छैन? खैर, जे भए पनि मसंग पर्याप्त समय छ।  कुनै परिधिमा बाधिएको छैन म।  पूर्णतया स्वतन्त्र छु।  हास्यास्पद कुरा हो, म मेरो स्वतन्त्रताको "सदुपयोग" अबेरसम्म सुतेर गर्दैछु।  

खानपिन भइसकेपछि ठाँटिएर आजफेरी म सहिदगेट जाने गाडी समात्छु।  कुनै समयतालिका नै नभएको हाम्रो माइक्रोबस व्यवसायी समितिको गाडी चढेर कुन समयमा गन्तव्य स्थलमा पुग्छु भनेर निचोड निकाल्न सकिन।  साचो भन्ने हो भने कुनै गन्तव्य बोकेर यात्रामा हिडेको थिएन म। यो लामो अन्तरालमा मैले काठमाडौँको झलकहरुलाई मानसपटलमा फेरी जागृत गराउनु थियो। कति कुरा बिर्सिसके।  अरुको बारेमा, काठमाडौँको बारेमा।  थोरै हदसम्म आफ्नै बारेमा।  आफ्नै कति कुराहरु बिर्सिदा भने थोरै दुख्ख लाग्छ।  परिस्थिति जस्तो सृजना भएपनि मानिसले आफ्नो वास्तविकता भुल्नु हुदैन, बुवाको यो कथन सधै सम्झिन्छु। गाडीको अन्तिम सिटमा गएर बस्दा पहिलेका दिनहरुको थोरै झल्को आयो। अन्तिम सिटमा बसेर गाना सुन्दै झ्याल छेऊबाट म काठमाडौँ नियाल्थे।  काठमाडौँ मलाई नियाल्थ्यो या नियाल्थेन, म जान्दिन।  गाडीभित्र रहेका सम्भबत सबै अनुहारहरुलाई एक एक गरि नियाले।  कुनै संस्थाको लागि लुकिछिपी जानकारी दिने विशेष सरकारी कर्मचारी त होइन  … मानिसहरुले शङ्का गरे होलान।  ती मानिसहरु माझमा एउटा न एउटा त परिचित अनुहार भेतिन्छा होला भन्ने आशा थियो मनमा।  तर यो शहर, साच्चै परिवर्तन भएछ।  यहाँ बस्ने मानिसहरु सबै नया भएछन।  चिन्नै गाह्रो पर्यो मलाई कसैको अनुहार पनि।  सानो छदा देखेका अनुहारहरु अब तरुना तरुनी हुदाको अनुहार, त्यहि नै हो भनेर ठम्याउन नसक्दा मैले कसैसंग पनि बोल्ने आट  गरिन। फेरी एक्लै पछाडि त्यहि सिट, झ्याल छेऊको सिटमा बस्दै काठमाडौँ नियाल्दै हिडे। ब्यस्त यो सहरको ब्यस्त यहाको सडकमा हुने जाम, कुनै नौलो कुरा भएन।  जति चर्चा गरे पनि नसकिने।  यहाँ पनि चर्चा गर्न थाले भने एउटा छुट्टै पुस्तकनै बन्ला भन्ने पीर लाग्छ। बागबजारमा ओर्लिएर फेरी त्यहि पुतलीसडकको पेटीमा घुम्न थाल्छु।  वरिपरि नियाल्दै, नया परिवर्तनलाई आखा लगाउदै  … म आफ्ना पाइलाहरु सुस्तरी अगाडि बढाउछु। भृकुटी मण्डप अगाडिको दृष्य निकै हास्यास्मद लाग्छ मलाई।  ठिक अगाडि नै फोहोरको डुंगुर, एकदमै दुर्गन्ध आउने गरि  … अनि फेरी भृकुटी मण्डपको गेटमा लेखिएको थियो , " Fun Park" ... उफ  … साच्चै नै फन पार्क रहेछ।  अगाडि विश्व भाषा क्याम्पस, रत्न राज्य लक्ष्मी क्याम्पस, नेपाली प्रहरी एकेडेमी  … अनि छिमेकी त्यो फोहोरको डुंगुर  … साच्चै साच्चै नै "Fun Park " छ हाम्रो पद्मोदयको बाटो। 

फेरी त्यहि पेटी, त्यहि सडक।  तर प्रत्येक पल्ट नियाल्दा आखामा आउने अनुहारहरु नया।  प्रत्येक अनुहारमा व्यस्तताको झल्को।  सबैलाई हतार छ।  के को ? कोहि जान्दैनन्।  समय त आफ्नै गतिमा चलिरहेको छ।  तर यो मानव समाज समयलाई जित्न दौडिरहेछ।  मपाइत्वको श्रीपेज सजाएर प्रगतिको बाटोमा दौडिन प्रयत्न गर्दैछ।  सबैलाई सफलता हासिल गर्नुछ।  खुड्किलो उक्लनु छ सबैलाई जिन्दगीमा।  सारा संसार आर्थिक तवरमा दृत गतिमा दौडिरहेको समयमा सायद हामीलाई पनि केहि कदम अगाडि बढाउन इच्छा लागिरहेछ। फेरी पनि यो सहर सधै यतिकै ब्यस्त रहन्छ। आर्थिक लोभको कारणले , व्यवसायको कारणले  … अरु पनि हुन सक्दछ। व्यस्तताको भिडमा म फुर्सदिलो मान्छे।  सबैलाई पालो दिदै भिडबाट बिस्तारै बिस्तारै अघि बढिरहन्छु। घाम त्यति रापिलो नभएकोमा मलाई गाह्रो लाग्दैन।  

"आजको दिन सहि छ यार। शितल भैराछ।  सधै यस्तै मौसम भइदिए हुने है  … ", जीवन बोल्छ। 
"त्यहि त है।  सधै यस्तै मौसम भए त त का हामीसंग हिड्थिस, कता पार्कतिर तरुनीसंग हुन्थिस होला  … ", आखा सन्काउदै म जिस्काउछु। 

म मुसुक्क हास्छु।  हासोको अर्थ लगाउन साथमा कोहि थिएन। पहिले त्यहि बाटोमा संगै हिड्दा जीवन र मेरो बीच हुने बार्तालाब।  विगतको एउटा झल्को, त्यहि नै काफी रहयो न्युरोड गेट आइपुग्दा सम्म मेरो ओठमा हासो सजाउन। 

गेट अगाडि उभिएर चर्तिकला देखाउदै गरेको पागललाई हेरेर हाम्रो काठमाडौँका आधुनिक सभ्य समाजका मानिसहरु गलगल हास्दै थिए। मेरो ओठमा पनि मुस्कान छाइरहेको थियो। तर मेरो मुस्कानको कारण एउटा मिठो सम्झना थियो। फेरी पनि त्यहि मुस्कान त्यो भिडको बिचमा गएर मिसिदा भने मलाई अप्ठ्यारो लाग्यो।  यो सभ्य समाजको उदाहरणको रुपमा म आफै पनि उभ्याइसकिएको थिए। छिनमै मनमा चिसो पस्यो।  एउटा पागल यसरी  सहरको बिचमा प्रस्तुत भइरहदा के हामीले हासोमाथि हासो थपेर आफ्नो सभ्यता प्रस्तुत गरिरहेका छौ? कामको व्यस्तता र कोहि कसैको लागि दिनभरी काम नपाएर थोरै हस्नको निम्ति ति पागल्हारुको सदुपयोग गर्नु सभ्यताको अर्को नमुना हुन सक्दछ। मानव समाज जति जति सभ्यता र आधुनिकताको खुड्किलो चढेको महसुस गर्दछ, झन् झन् मानबिय समबेदना र सामाजिकरणबाट विभाजित भइरहेको छ।  यो अचम्मको सभ्यताले मनावमात्रको समाजको कल्पना सिकाएको छ।  मानवमात्रको समाजभित्र पनि आफूमात्रको संसार। सामाजिक जमघट र पहिचानबाट बाहिरिएर मानिस स्वार्थी बन्दै गइरहेको  छ।  म आफै एउटा उदाहरण हू।  त्यो भिडको हासो रोक्न म केहि गर्ने वाला छैन।  त्यो पागल, त्यो जमातको निम्ति एउटा अत्यन्तै हास्यास्मद चुट्किला सरह प्रस्तुत भइरहने छ। सबैचिजको लागि पैसा तिर्नु पर्ने यो शहरमा मुफ्तमा हास्न मिलिरहेको छ।  निश्चय पनि यो समाजले त्यसको भरपुर फाइदा उठाउने छ।  तर म के गर्न सक्छु? मेरो खालि उदाङ्ग दिमागलाई ब्यस्त राख्न यिनै कुराहरु खेलाउन सक्छु, सभ्यता र असभ्यताको बारेमा थोरै डायरीमा लेख्न सक्छु।  नतमस्त भएर म हिदिनै रहन्छु।   




Friday, June 6, 2014

छोटो यात्रा (भाग १)

भाग १  

पुतलीसडकको यो पेटीमा हिड्दै गर्दा उसलाई भेटिन्छ होला  भनेर कहिले पनि सोचेको थिएन। मानवमात्रको यो कोलाहलमा यात्रीहरुको अनुहारहरु नियाल्दै जादा उसको अनुहार एक्कासी देखा पर्छ भनेर न उसले सोचेकी थिई, न मैले। नसोचिएको कुरा नै बढी हुन्छ जीवनमा। आज पनि सम्झिन्छु आदित्य भन्ने गर्थ्यो, "आशा नगरिएको कुराको आशा गर - expect the unexpected." सायद सत्य त्यहि नै हो। अनुहारमा एक किसिमको भाव प्रकट भयो, खुशीको,  सायद अचम्मको। अनि उनका नयन बोल्दै थिए … यो हुनै सक्दैन। म उसको सामू  जिउदो जाग्दो खडा छु भनेर उसलाई विश्वास दिलाउन, अझ भनौ उसले विश्वास गर्न थोरै समय लाग्यो। हातले आखा छोप्दै थोरै मुस्कुराई। आकाशको कालो बादलले घामलाई छेकेको बेला उसको त्यो मुस्कानले सारा पुतलीसडकका गल्लीहरु उज्यालो भएको भान भयो। सबैभन्दा पहिलो, मुस्कानको प्रभाव मेरै अनुहारमा परेछ। … ओहो … त्यहि मुस्कान… जिवन्त हासो  … साच्चै  … साच्चै नै  … मैले भन्ने गरेको "जिवन्त हासो" … त्यो मुस्कानमा कुन्नि के जादु छ? … घत लाग्यो मलाई। थोरै मुस्कुराए।

"मुस्कुराउनुको कारण ?", मैले फ्याट्ट सोधे। सोध्न नहुने प्रश्न थियो। कल्पना नगरेको व्यक्तिसंगको यो आकस्मित भेट.… साच्चै नै यो अच्चमको कुरा थियो। मेरो निम्ति  हर्षको कुरा थियो। उनको निम्ति नि ? … सायद हर्षको नै थियो, त्यहि भएर त मुस्कुराई। त्यो थोरै घामले डढेको जस्तो अनुहारमा सेता दन्त-लहर देखाएर मुस्कुराई।

" यो भेटमा तिमीले यो प्रश्न सोध्न उचित छ? " उसको प्रश्नमाथि प्रश्न गर्ने बानी उदाहरण दिएरै प्रस्ट गरि। दोहोरो प्रश्न गर्ने ममा आट भएन।

"स्वतन्त्रताको फाइदा उठाउनुस। तिमी स्वतन्त्र नारी हौ।"

"पहिलो भेटमै यसरी पुरुष र नारीको अन्तर्द्वन्दलाई प्राथमिकता दिन्छौ होला भनेर आशा गरेको थिईन मैले। आपसमा बहस गर्न हामी यो भन्दा अर्को राम्रो ठाउँ र समय भेट्छौ होला। हिड मेरो अफिसमा गएर कुरा गरौला।"

पहिले एउटा कन्सल्त्यन्सिमा काम गर्थि। आजभोलि कता गर्छे, मैले सोधेको छैन। अबको केहि छिनमा थाहा भइहाल्छ। म खुरुखुरु उसको पछि लागे। उसले मलाई दोहोर्याइ, आज ऊ मेरो पथप्रदशक बन्दै छे। ब्यस्त सहरका ब्यस्त मानिसहरु माझमा यता उता ठेलमेल गर्दै म उसको पछि लागे। आजको दिन संगै हिड्न मन थियो। तर यो सहर ईर्ष्या गर्छ। विशेष गरेर यी पुतलीसडकका पेटीहरु। अनि यो अफिस आवर। दुइ जनासंगै जोडिएर हिड्नको निम्ति कहाँ ठाउँ पुग्छ र? पछि पछि लागे। छेवैको रेस्टुरेन्ट र होटेलहरुमा खाजा पाक्दै थिए। कहिँ कुनै कुनाबाट म:मको बासना पनि आउदै थियो। म:मका ति मुझाहरु भित्र पनि एउटा सम्झनाको पुस्तकनै मुझा परेको छ। त्यो पल मैले खोल्न चाहिन। मुझा खोल्ने क्रममा फेरी म धेरै पछि पर्छु कि भन्ने डर भयो। मैले आफ्नो ध्यान मोडेर उसलाई भेट्टाउन केन्द्रित गरे र उसकै पछि दौडे।

१५ मिनेटको हिडाई पछि बल्ल उसको अफिस आइपुग्यो। कुनाको सोफामा बस्न अनुरोध गरेर ऊ खै कता गायब भइ। बाहिर थोरै घाम झुल्किन थालेछ। दिन केहि हदसम्म मनोरम हुन्छ कि भनेर आशा गर्न सकिन्थ्यो। मिल्छ भने आजको दिन चाडै नै छुट्टि लिन अनुरोध गर्नु पर्ला। बदामको पोका बोकेर बात मार्न टुडिखेल खालि छदै छ। होइन भने दरबार स्क्वायरमा पनि हाम्रो लागि थोरै ठाउँ मिलिहाल्छ होला। आजको दिन भने थोरै हदसम्म सम्झन लायक रहने भयो - मनमा कुराहरु खेल्दै थिए। ऊ टुप्लुकिई। आउने बित्तिकै हाजिर गर्नु पर्ने, हाकिमको अगाडि देखा पर्नु पर्ने, इत्यादि "कर्तव्य " मानिएका फर्म्यालितिहरु पुरा गरेर आईन, मनमनै सोचे।

"अनि के छ त? कहिले आयौ? खबर पनि गरेनौ। अचानक, आज यसरी, यो रुपमा? मैले सपनामा पनि सोचेको थिईन। सर्प्राइज हो भने, तिम्रो यो सर्प्राइज दिने तरिका मन परेन। किन यस्तो निष्ठुरी भएको? ", अलि कडक स्वरमा भनि।

" निष्ठुरी" शब्दको प्रयोग भएको मलाई थोरै हासो लाग्यो। नारी- नारीबिचको बार्तालाभमा धेरै प्रयोग हुने शब्द हो यो। पुरुष र नारीको बार्तालाभमा पनि प्रयोग भएकोमा भने मलाई थोरै हासो लाग्यो। नारीहरु किन यो शब्दको बढी प्रयोग गर्छन? सोच्दा सोच्दै फेरी हासो लाग्यो।

"मेरो प्रश्नमा कुनै हास्य - व्यङ्ग्य चुटकिला त मिसिएको छैन नि? ", अचम्म मान्दै उसले सोधि।

" छैन छैन। यसै हासो लाग्यो। लाइसन्स त चाइदैन नि?"

"चाहिदैन चाहिदैन। मज्जाले हास्दा हुन्छ।"

"धन्यवाद। हासोको लागि स्वीकृति दिएकोमा। गाह्रो छ आजभोलि केहि कुराको स्वीकृति पाउन पनि।"

"ल छोड, त़ी आधारहिन कुरा गर्न। प्रश्नको उत्तर देऊ।"

ओहो! आजभोलि त निक्कै परिवर्तन भइछे। विषयभन्दा बाहिर जान चाहदिनछे। सायद व्यवहारिक भइछे। अनि ब्यवसाहिक पनि।

" अ अ.… यसै। आउन मन लाग्यो, आए। कुनै मन्त्री वा प्रधानमन्त्री त होइन नि म। सबैलाई जानकारी दिइरहन आवश्यक ठानिन। त्यसैले धेरैलाई खबर गरिन। वश, आए।"

" ओ.… आवश्यक ठान्नु भएन हजुरले? अनि फेरी विशेष गरि त मलाई  … के खबर गर्नु? हैन त? महान हुनुहुन्छ हजूर ।"

आफ्नो रिसलाई यो उच्चार्थी भाषामा समाहित गर्ने यो उसको बानी, मलाई अप्ठ्यारो लाग्यो।यो पहिलो भेटमै बहस गरिरहने कुरा भएन। आफ्ना बाध्यता र अप्ठ्याराहरु आफ्नो ठाउमा छदै छन्। "किन बुझ्न खोज्दिनौ?" भनेर झपार्न मन लागिरहेको थियो। तर पहिलो भेट.… मैले बिर्सनु हुन्नथ्यो। थोरै मुस्कुराए। सायद त्यो मुस्कानमा पनि मेरो "महानता" झल्किरहेको थियो। अनि शान्त भएर भने ," अलि त्यस्तै पर्यो। "महान" मान्छेको कुरा बुझिदेऊ न, प्लिज।"

अब हास्ने पालो उसको। मस्तले हासी। अब चाहि पुरै घाम झुल्केझैँ लाग्यो। अफिस बाहिरको त्यो सूर्यमुखी पनि मुस्कुराउदै रहेछ। मलाई घत लाग्यो। ट्वाल्ल परेर हेर्दै हास्दै बसे। सायद यहि हो, मैले चाहेको मुस्कान। यहि हो मैले खोजेको नारी । मनमनै प्रफुल्लित भए।

"ल हेर केटा मान्छे भएर पनि.… यसरी झुक्नु पर्दैन।" रिसाए जस्तो गरेर मेरो परिक्षा लिएकी रैछे। "म त मजाक गर्दै थिए। तिमी पनि.… साच्चिकै पो सिरियस हुन थाल्यौ।"

उफ़… उसको यो मजाक गर्ने बानी। पहिले म उसलाई यसरी नै नाटक गरेर, रिसाए जस्तो गरेर मजाक उदाउथे। आज बदला लिई। ठिकै छ। तर यो भेटमै? मेरो दिमागले त्यहाँसम्म सोच्न भ्याइसकेको थिएन। आजको दिन सम्झिनको निम्ति अर्को एउटा पनि कारण भयो। बिर्सने त कुरै भएन।

"ल ल.… ठिकै छ। हाल-खबर सुनाउ आफ्नो।"

"ठिकै छ। देखिहाल्यौ, यहि अफिसमा काम गर्दै छु। जीवन एक प्रकारले ब्यस्त छ। मैले व्यस्ततालाई अंगाले या मलाई व्यस्तताले अंगाल्यो, सोचेको छैन, सोच्न भ्याएको छैन सायद। समय बितिरहेको छ। आफ्नै गतिमा भन्दा पनि अझ तेज गतिमा भनौ। वश, म त्यहि समयको गतिलाई पछ्याइरहेको छु। अनि आफ्नो नि?

"बाचिरहेको छु। ब्यस्त जिन्दगीलाई पछाडि छोडेर, थोरै फुर्सद निकाल्ने प्रयास गर्दै छु। नत्र यो पुतलीसडकको पेटीमा आवारा भएर हिड्न कसलाई फुर्सद हुन्छ? आफूमै भर पर्ने कुरा रहेछ, ब्यस्त हुने कि फुर्सदिलो हुने भन्ने। अरु सबै आरामै छ भन्दा हुन्छ।"

कुन बेला चिया अडर गर्न भ्याइछे? चिया आइपुगिसकेछ। अब व्यवसायिक भइसकेपछि त्यति चलाख त हुनु परिहाल्यो। नत्र अफिसमा आउने मानिसहरुलाई कसरि रिझाउने? व्यवसायिक समाजका व्यवसायिक कर्मचारीहरु। तर म कुनै ब्यापार, व्यवसायको उधेश्यले त्यो अफिसभित्र प्रवेश गरेको थिएन। मलाई कुन उधेश्यले चिया पिलाउदै छे? व्यवसायिक कर्तब्य पालना गर्दै छे या मित्रताको संकेत दिदै छे?फेरी पनि बेकारमा चिया बनाउनेलाई काम थपिदिए जस्तो लाग्यो।यो खाना खाने समयमा यसरी चिया खानु अनि उचित लागेन। फेरी खाएन भने पनि ठुलो मानिस ठहरिनु पर्ने भनेर सोच्लि। नारी हुन्, जे पनि सोच्न सक्छे। ठिकै छ, खाइदिन्छु। सुरुप्प ताने। चिया खाउन्जेल ऊ केहि बोलिन। मलाई पनि केहि बोल्ने मन भएन। कोठा केहि पलको निम्ति शान्त भयो। बाहिर फेरी बादल लागे जस्तो थोरै अध्यारो भयो। सूर्यमुखी फेरी ओइलाएछ।

"अनि, अब कति बस्छौ त यहाँ ?"

"आउन नपाई पठाउन हतार जस्तो छ नि मलाई त?"

"मेरो नियन्त्रणमा छैन तिम्रो आउने जाने। आउने बेलामा त केही खबर गरेनौ, अब जाने बेलामा पनि खबर गर्छौ जस्तो लाग्दैन मलाई।  फेरी पनि प्रश्न गरे, उत्तर दिने नदिने तिम्रो रोजाई। "

"धेरै बस्दिन।  तर छिट्टै गइहाल्दिन। जाने बेलामा तिमीलाई खबर गरौला। "

एक प्रकारको आनन्द छायो उसको अनुहारमा। ऊ के चाहन्छे मबाट ? म बुझ्न सक्दिन। नारी ! प्रश्नै प्रश्नको ज्वालामुखी हो।  उत्तरको अपेक्षा गर्ने गाह्रो।  के चाहन्छे ? के गर्छे जीवनमा? कसलाई रोज्छे? किन साना साना कुरामा भावुक हुन्छे? प्रश्नहरुको ओइरो लाग्छ। तर जवाफ़… शब्दमा कहिल्यै दिदैनन्।  आफै मुल्यांकन गर्नु पर्छ।  उसको मुस्कानको, कोरिएका शब्दको। त्यसैले त होला पुरुषहरु "बहुलाउने"  … नारीको पछि लागेर।  मलाई त्यहाँ धेरै बेर बस्न अप्ठ्यारो महसूस भयो।  काम गर्ने ठाउ, फेरी ब्यस्त मान्छे।  भोलि भेट्ने बाचा गरेर म त्यहाँबाट निस्कन्छु। दिनभरि ऊसंग बिताउने मनको योजनालाई त्यहि अफिसको दस्तबिनमा मिल्काइदिञ्छु। मुस्कानका साथ मलाई बिदाई गर्छे। त्यहि मुस्कानको अर्थ लगाउन आएको म, त्यहाँ देखि  … ह  … म यो के सोच्दैछु। आफैभित्र द्विविधाको परिस्थिति सृजना भएको पाउछु। म निस्किन्छु, त्यहाँ बाट हात हल्लाउदै। बाहिर सूर्यमुखीमा थोरै उदासिनता छाए जस्तो लाग्यो। घामलाई छेक्न बादलहरु दौडिरहेका छन्। भोलिको दिनमा सूर्यमुखी हास्नेछ भन्ने आशा गर्दै सहिदगेटतिर लम्के। फेरी त्यहि भीडभित्र हराए।  अपरिचित अनुहारहरुको माझमा मैले आफ्नो परिचय लुकाए।   

Thursday, June 5, 2014

झटारो

(तरुनी भेट्यो कि गफ हान्छु म)^ २ 
आए आप गए झटारो हान्छु म

(जवानी त उसको पनि )^ २ , नत्र ब्यर्थै किन मस्किन्थी र 
माया त उसलाई पनि लाग्दो हो, बाउ देखेर किन झस्किन्थी र 
चौतारीमा बसेर सिठ्ठी फुकेर मायाको जाल फाल्छु म 
आए आप गए झटारो हान्छु म

(छेऊमै बस्छे )^ २, गफ सुन्छे, भन्छे, " छ्या तपाईपनि"
गाला समाई चिमोटी दिन्छु, के कम छु र मपनि 
उसकै आमाको छेउ गइ "बिहे गर्नु पर्ने मेरो" भन्छु म 
आए आप गए झटारो हान्छु म 

("छ नि, तिमी साह्रै राम्री")^२ ,ओठ टोकि "हो र... " भन्छे उनी 
म थपिदिन्छु," तिमी जस्ती जन्मिन लाग्छ अर्को जुनी "
"छोरी ठुली भई , साइला दाई " उसकै बाउलाई भन्छु म 
आए आप गए झटारो हान्छु म

Tuesday, May 27, 2014

प्रारम्भ

"प्रारम्भ ...कहा बाट? हामी सबैले सोध्ने प्रश्न हो ..जवानी छ हामीमा ..केही गर्ने ठुलो सपनाहरु पनि छ ...जीवनलाइ परिबर्तन गर्न चाहन्छौ...समाजलाई परिबर्तन गर्न चाहन्छौ . ..कोही डॉक्टर बन्न चाहन्छौ ..कोही इंजिनियर ...धेरै छौ हामी मध्य जो गायक बन्न चाहन्छौ . ..गीत र धूनको तालमा जिउ हल्लाउन चाहन्छौ ...जिउ हल्लाउदै अनि संगै गाउदै गाउदै हामी मध्य धेरै छौ जो समाजको रूपलाई फेर्न चाहन्छौ ...समाजलाई नया तालमा नचाउन चाहन्छौ अनि ती नया पीढ़ीहरुको मुखले परिबर्तनका गानाहरु गाओस भन्ने चाहन्छौ ….आज थुप्रै युवाहरु हुनु हुन्छ म जस्तै, अनि तपाई जस्तै जो समाजमा बिकृतिहरुलाई हटाउन चाहन्छन ....हिजोका हाम्रा अन्धबिस्वास जून आज एउटा समस्या बनेर हाम्रो समाजमा गढ़ेको छ ..ती सबै कुराहरुलाई हामी निर्मूल पार्न चाहन्छौ ....एउटा नया बिहानीको प्रारम्भ गर्न चाहन्छौ ....एउटा नया कल्पना , नया सोचको प्रारम्भ गर्न चाहन्छौ ...तर थुप्रै चाहनाहरु हुदा हुदै पनि हामी त्यसो गर्न सक्दैनौ...हामी मध्य थुप्रै छौ जसले समजदेखी हार मानेका छौ ..जसले देशको राजनितिक स्थिति देखि हार मानेका छौ ...हामी मध्य थुप्रै छन जसले त्यों हारलाइ ...जसले त्यों नैरास्यतालाई बाहिर निकाल्न मुखबाट सिगारका धुवा फुकेर पोख्न "प्रारम्भ" गरेका छौ ....नशामा आफैलाई भुलाउन "प्रारम्भ" गरेका छौ .समाजको सुस्त गतिको परिबर्तनलाइ देखेर सुस्तरी आफैलाई कोठाको चार भित्तामा थुनिरहेका छौ ..अनि हरेक दिनको त्यहि "ताजा" खबर सुन्नुमा भन्दा म्यूजिक प्लेयरका गानाहरुमा "मस्त" रहन थालेका छौ ..तर हामी मध्य थुप्रै युवा साथीहरु पनि हुनु हुन्छ जसले आफ्ना क्षमता अनुसारका कामहरु गर्नु भएको छ ..जीवनका आशाहरुमा आफूलाई उभ्याउनु भएको छ ...परिबर्तनका आशाहरुमा आफैलाई गाउ - गाउमा दौदाउनु भएको छ ....एउटा नया प्रारम्भको आशामा सूर्यका किरणहरु संगै आफैलाई जागरिलो बनाउनु भएको छ ....स्वतः शक्तिको परिचालन गर्नु भएको छ आफ्नो जिउमा ...ती पाइलाहरु ...अनि ती स्वचालित जिउहरुलाई हामी गहिरो सोच नदिकन बस्न सक्दैनौ ...सबैलाई हामीले एउटा नमुनाको रूपमा हेर्नु पर्छ ..र यी मध्यको एउटा युवा तपाई आफै पनि हुनु हुन्छ ....


प्रारम्भ?.... हो ..म आफै पनि प्रश्न गर्छु ...कहा बाट? को बाट ?..हरेक पल्ट प्रश्न गर्छु ..अनि उत्तर कहिले पनि पाउदिन...एक्लै कोठामा बसेर पनि प्रश्न गरे. बाटोमा एक्लै रुम्मलिदै हिड्दा पनि प्रश्न गरे ...तपाई आफै पनि गर्नु हुन्छ होला यी प्रश्नहरु .यो हाम्रो जवानी को प्रतिफल हुन सक्छ..आमूल परिबर्तनको आशा बोकेर मस्तिस्क भरी दौडिने तातो रगतको प्रतिफल हुन सक्छ ....दुनियालाई थोरै बुझ्न खोज्ने हाम्रो चन्चल दिमागको प्रतिफल हुन सक्छ ...हामी चाहन्छौ केही प्रारम्भ गर्न ...जीवनलाई केही अर्थ दिन ..बाच्नुको केही औचित्यता खोज्न, अनि प्रारम्भ गर्न चाहन्छौ ती पाइलाहरुको जून पाइलाहरुले हामीलाई जीवनको एउटा गंतब्यतिर दोहोराउने छ ...हामी चाहन्छौ प्रारम्भ गर्न एउटा नया बिहानीको जसले हामीलाई हाम्रा बितेका अन्धकार कोठाहरुलाई भुल्न सहयोग गर्नेछ ...धेरै भयो सुतेको...सायद अब बिउझन चाहन्छौ...जून "तातो" रगत मस्तिस्कमा आमूल परिबर्तनको आशा बोकेर उम्लिरहेको छ, सायद त्यों रगतलाई, त्यों परिबर्तनको आशालाई अब हात, खुट्टा अनि सारा जिउ भरी सञ्चालन गर्न चाहन्छौ...त्यहि शक्तिलाई आधार बनाएर केही ठोस काम गर्न चाहन्छौ...परिबर्तनको यात्राको थालनी गर्न चाहन्छौ..आफै पनि हिडन चाहन्छौ, र साथ साथै यात्राको क्रममा भेटिएका संपूर्ण सहयात्रिहरुलाई संगै लैजान चाहन्छौ. तर गर्ने कसरी?
गाह्रो कुरा हो नि, हैन त? एकदम सही हो. तपाई हामी जस्तै थुप्रै पिढीहरुले प्रयास गरे, अझै पनि गर्दै छन. थुप्रैले राजनितिलाई अंगाले. कसैले आर्थिक क्रान्तिमा बिस्वास गरे. धेरैले शिक्षालाइ प्राथमिकता दिए. सबै आफ्नो आफ्नो ठाउबाट सही रहे र छन पनि. सबैले आफ्नो आफ्नो तवरबाट समाजका समस्याहरुलाई सुल्झाउने बाटोको खोजि गरे... आज हामी जून परिस्थितीमा बाचेका छौ, त्यों हिजोको प्रयासहरुको प्रतिफल हो... सही स्थितिमा छौ या गलत स्थितिमा आइपुगेका छौ? सबैको विश्लेषण आफ्नै आफ्नै हुन सक्छ तर ती विश्लेषणहरुका बाब्जुत आजको हाम्रो यथार्थ हामी माझ ठिंग उभिएकै छ, फेरी पनि आजको यथार्थलाई कुन कोणबाट अर्थ दिन खोज्नु हुन्छ, त्यो तपाईको आफ्नो विश्लेषणमा भर पर्छ . एक्काइसौ शताब्दीमा हामी स्वतंत्रताको पूर्ण रुपमा मजा लिन सक्छौ, अनि आफ्नै नजरबाट दुनियालाई, समाजलाई, देशको परिस्थितिलाई हेर्न सक्छौ. अनि "यथार्थ" को आफ्नै परिभाषा निर्माण गर्न सक्छौ. त्यहि सिसाको ग्लासलाई आधा खाली पनि देख्न भने आदा भरी पनि देख्न सक्छौ... स्वतंत्रताको फेरी एकचोटि मजा लिनूस र आफ्नो नजर आफै तय गर्नुस...


सबैलाई थाहा छ की आजको रातमा देखेको सपना भोलिको बिहानमा पूरा हुदैन. निश्चय पनि हामी सबैलाई यो कुराको ज्ञान छ, तर हामी कहिले काही यो यथार्थलाई भुल्ने गर्छौ, र बिना सित्तिमा आफैलाई अल्झाइरहन्छौ र कुनै नया काम को प्रारम्भ गर्न नै डराउछौ. हो, हामी मध्य थुप्रै छौ जो डराउछौ र आफैलाई पछाडी ढकेल्छौ. अनि थुप्रै छौ जसले यी कुराहरुको ख्यालनै गरेका हुदैनौ. जून जीवन हामीले पाएका छौ, त्यसको केही अर्थ खोज्न प्रयत्न नै गर्दैनौ. हामी संग भएका सुबिधा, अनि स्व्रोत साधनहरुको सही अर्थ जान्दैनौ... दुनियालाई एकचोटि नजर लगाएर हेरेको भए देखिन्थ्यो होला सायद...सायद धेरै महसूस पनि गर्नु भयो होला..अनि धेरैले त्यतातिर ध्याननै दिनु भएको छैन होला...तर कतिन्जेल सम्म? कतिन्जेल सम्म हामी आफैलाई पछाड़ी राख्दै हिड्ने? कतिन्जेल सम्म भोलिको पर्खाइमा बस्ने? अनि कतिन्जेलसम्म हामी छिमेकीहरुको प्रगति हेरेर आफूमा भएको स्थिरतालाई अन्गालेर बस्ने?...परिबतन हामीलाई चाहिएको हो भने किन अरुले त्यों बाढी ल्याईदिन्छ की भन्ने आशामा बाच्ने?...सधै जवाफको खोजीमा हिडेको हामी, दुई चार प्रश्न आफैलाई किन नगर्ने?...नया बिचार नया सोचलाई समाजले सधै तिरस्कार गर्छ नै...भर्खरै हिडन सुरु गरेको बालकलाई उसको जिउले बारम्बार तिरस्कार गरेझै.....तर त्यों तिरस्कारको बाब्जुत पनि त्यों सानो बालकलाई थाहा छ की उसलाई एकदिन हिद्नु छदै छ....त्यहि भएर होला...जति चोटि लडे पनि हासी हासी उभिएर हेरी हिडन खोज्छ...र एकदिन निश्चय पनि हिडछ नै...र सायद हामीले आफूलाई एउटा दर्शकमात्र नबनाएर एउटा बिधार्थी बनाउने बेला आएको छ....आखा वरीपरिका दृश्यहरुबाट केही सिक्नु पर्ने बेला आएको छ...सही सोचलाई अन्गालेर मात्र कदमहरु चाल्नु पर्ने बेला भएको छ...लड्दै...पछारिदै ..अनि फेरी उभिदै हिड्ने बेला आएको छ...हिडन जानी सके पछि आफ्नो रफतारमा दौदिनु होला...बाटाका काढाहरुलाई कुल्चेर हिद्नु हुन्छ या छेउमा पंछाउनु हुन्छ, या उफ्रिएर काढालाइ वास्ता नगरिकन हिद्नु हुन्छ, आफै तय गर्नु होला...तर प्रारम्भ भने निश्चय पनि गर्नु होला...त्यो पाइलाको, त्यो कदमको जसलाई तपाईको अदृश्य भविष्यले प्रतिक्षा गरिरहेको छ....त्यो यात्राको जसमा तपाई हामी जस्तै थुप्रै युवाहरु एक अर्कासंग आफ्ना कथाहरु सात्न तयार भएर बस्नु भएको छ....तपाई संगै गाउन, अनि नाच्न उत्सुक हुनु हुन्छ...हो, मात्र प्रारम्भ गर्नु होला.. 

मेरो छेउको साथी

कोठाको एक्लोपनलाई हटाउन खोज्न बल्ल तल्ल उसले झ्यालको पर्दा उघार्यो | आज त देखिन्छकि भनेर यही हेर्ने प्रयास गर्यो | तर सदाझै उसले आज पनि केहि देखेन| देखोस पनि कसरी? बाहिर अन्धकार थियो|रातको त्यो चकमन्नतालाइ ऊ महसुस गर्दै थियो, मात्र केवल महसुस| औसीको अन्धकारलाइ छिचोल्दै आज जून बल्ल तल्ल केहि प्रकाश छर्ने प्रयत्न गर्दै छ| तर त्यो प्रकाश उसको लागि काफी छैन| साचै साचै नै उसलाई केहि देखाइदिएन | ताराहरु नचम्किरहेका होइनन्| तर ताराका किरणहरुले उसको आखामा प्रवेश पाउन सकेनन्| लाखौ माइलको यात्रा गरेर उसको आखासामू सम्म त आइपुग्यो, तर नानीभित्र भने पस्नलाई ति किरणहरुले अनुमति पाउन सकेनन्| सदाझै उसले आखा मिच्यो, केहि देखिन्छ कि भन्ने आशामा| आशा केवल आशा त हो नि, निराशामा बदलिन सक्दैन भनेर कसले भन्न सक्छ यहाँ| उसको त्यो आशाहरुलाई जिस्क्याउदै जूनकिरीहरु पिल पिल बल्दै नाच्दै थिए| फेरी पनि उसले केहि देखेन| उसको निर्दयितालाई ब्यङ्ग गरेकोमा जूनकिरीहरु देखि मलाई रिस उठ्यो, तर रिसलाई नियन्त्रण गर्ने बाहेक म संग अर्को केहि विकल्प पनि त थिएन| बश, हेरेर बसे उसको बिबश्तालाई, आखामा दुई थोपा आसु टल्काए| फेरी के?.......सदाझै रुमालको सहायताले सुकाए|

बिहान भयो सदाझै.....| मेरो निम्ति त्यो कुनै आश्चर्य थिएन| सायद तपाइको निम्ति पनि कुनै आश्चर्यको कुरा होइन| भनिन्छ हरेक बिहान आशाको किरण बोकेर आउछ तर मलाई त्यो वाक्यले की असर गर्छ भनेर तपाइले नसोच्दा हुन्छ| तपाई सोच्नुहोस या नसोच्नुहोस, त्यो तपाइको अधिकारको कुरा हो| तर कृपया केहि "आशा गर " भनेर मलाई नभन्नुहोस| यति भन्दा भन्दै पनि तपाई फेरी पनि भन्नुहुन्छ भने यसमा मेरो केको दोस ? बालुवामा पनि खन्याउनु हुन्छ भने अवस्य सुक्छ नै | कुनै द्विविदा नै छैन| तर ऊ म भन्दा भिन्दै ठ्याक्कै बिपरित छ | हरेक बिहानको आगमन संगै ऊ आफ्ना परेलिहरुलाई सक्रिय बनाउन खोज्छ| सदाझै आजको बिहान पनि उसले केहि देखिन्छ कि भन्ने आशामा आखा मिच्छ| आखाका नानीहरु तन्काई तन्काई संसारलाई नियाल्ने चेस्टा गर्छ ऊ | तर एकनासको अन्धकारभन्दा बढी उसले केहि पाउदैन| आधा घण्टा जति लामो प्रयास पछि अलि थाके जस्तो अनुभब गरेर बाकी आशाको शक्ति भोलिको बिहानलाई साचेर राख्दछ| जब जब म उसलाई हेर्छु, एउटा छुट्टै भाव उत्पन्न हुन्छ मेरो मनमा| उसमा रहेको जीवनको आशालाई देखेर मलाई अचम्म लाग्दछ| कत्रो आशा छ उसमा! अनि आफ्नै अनुहार हेर्छु ऐनामा, किन यत्रो नैरास्यता? म कहिले पनि उत्तर पाउदिन| मैले गलत प्रश्न गरे या त प्रश्नको सहि  जवाफ खोज्ने प्रयत्न गरिन, यो म जान्दिन| बश म यति जान्दछु कि म नैरास्यताको सिकार छु|  "when pessimist don't have anything to worry about, they start thinking why they don't have anything to worry about." कुनै महान व्यक्तितोको भनाइ हो यो| के म पनि यस्तै छु?मैले आफैलाई सोध्ने प्रश्न| तर जवाफ कहिले पनि चिट्ट बुझ्दो मिल्दैन| अरु मित्रहरुलाई पनि म सोध्ने गर्छु, तर खै किन हो जवाफ फिटिक्कै चिट्ट बुझ्दैन मलाई तिनीहरुको जवाफ| हुन त म भन्ने गर्छु- जब सम्म मानिसले आफ्नो मनबाट उत्तर पाउदैन, तब सम्म मानिसलाई सन्तुस्ट हुदैन| सायद मलाई पनि यहि भैरहेछ| तर साच्चै साच्चै जब जब म उसलाई देख्छु, म अचम्मित हुने गर्छु| ऊ मेरो अभिन्न मित्र, तर म उसको अभिन्न मित्र हु या होइन, यो जान्नमा भन्दा मलाई उसका आशाहरुमा हराउननै रमाइलो लाग्यो| उसको मनमा के छ, मैले उसलाई सोध्ने चेस्टा गर्न सकिन, कारण धेरै छन्| तर मैले उसको भावनाहरुलाई आफ्नै तरिकाले बुझ्ने प्रयास चाही नगरेको होइन| म हिजोको घटनालाई सम्झिरहेछु, अनि विश्लेसनमा जुतिरहेछु उसका व्यवहारहरु र हिजो उसले देखाएका चर्तिकलाको|

सधै बिहान मात्र बाहिर हेरर आफ्नो आखा मिच्ने गर्ने ऊ हिजो बेलुकीनै त्यस कार्यमा ब्यस्त थियो? अचम्म लाग्यो| पहिलो पटक मैले उसमा उत्पन्न भएको भवनको अनुभब गरे| साच्चै भनौ त नकारात्मक भावनाको| ठुलो प्रयास पछि छामछुम गरेर बल्ल उसले पर्दा उघार्यो| फेरी आखा मिच्यो, यति जोडले मिच्यो कि उसको त्यो प्रयासमा केहि हेर्ने, संसारलाई नियाल्ने आकंछ्या कति ठुलो रहेछ भन्ने कुरा प्रतिबिम्बित  भइरहेको थियो| उनको त्यो कार्य म हेरिरहेको थिए, मात्र हेरिरहेको| म गर्न पनि के सक्थे? १५ -२० मिनेटको प्रयास पछि पनि उसको केहि चलेन| बिहान सुर्यको उदाईसंगै जून र ताराले बिलाउने सहमति जनाए तर उसको आखामा आफ्नो प्रतिबिम्ब छोड्न मानेनन्| जून्किरिले आफ्नो नाच मलाई त देखायो तर उसले पनि हेरोस भन्ने जूनकिरीको चाहना भएन| त्यसपछि उसले एकनास माथितिर हेर्यो| परेलीहरु खोलेर केहि बेर टोलायो| टोलाउदा टोलाउदै उसका नयनहरु रसिए| म अनुभब गर्दै थिए| नयनमा मात्र अटाएनन उसका आसुहरु| गालाको स्पर्ससंगै केहि थोपा भुइँमा पनि झरे| मात्र म केवल हेरिरहेको थिए| कुनै आवाज थिएन त्यो रोधनमा| उसको बोली त "भगवान"लाई मिठो लागेको हुनाले "भगवान" ले पहिलेनै उसको बोली लागिसकेका थिए | कत्रो विवसता, रुवाइमा कुनै आवाज थिएन| सायद उसको रुवाइको आवाज म बन्न सके, यहि सोचे | कति बेला मेरो आखा पनि भरिभराउ भइसकेछ, पत्तै भएन | आसु बगे मेरा नयनबाट पनि| मैले थाम्न सकिन आफुलाई| संगै रोए, धेरै बेर रोए| ऊ आफ्नै तालमा माथि आकाशतिर हेरेर रोयो, म उसलाई हेरेर रोए| ऊ के कारणले रोयो म जान्दिन| दुई हात फैलाउदै थियो ऊ| सायद तैले यो मलाई के गरिस भगवान भन्दै रोइरहेको थियो ऊ| ऊ रुदै थियो, तर उसले आसु देखेको थिएन तर म आफ्नै र उसको पनि आसु देख्दै थिए| भावविभोर भएर रुदा पनि बल्ल तल्ल सानो आवाज निस्कन्थ्यो उसको मुखबाट तर नचाहेर पनि मेरो रुवाईको आवाज झन् झन् ठुलो बन्दै थियो| अनि, अनि फेरी मेरो यत्रो सहानुभूति म चाहेर पनि उसलाई सुनाउन सक्दिनथे| सरल रूपमा भनौ ऊ सुन्न सक्दैन थियो| उफ़, कत्रो घात: म झन् रोए, ठुलो स्वोरले रोए| तर त्यो रुवाई केवल मैले देखे, मैले सुने,- ऊ आफ्नै तालमा एकनासले रोइरहयो..हरेक बिहानको आशालाई त्यो छ्य्न पल पल नैराश्यताले जितिरहयो| जून र ताराले एकनास उसलाई हेरिदियो| अब त भगवानको विश्वास लाग्न छाड्यो भन्थे तर उसको रुवाइको केहि बेरमै बादलले उसलाई रातभर साथ दिइरहयो र मैले पनि |