Saturday, June 6, 2015

अडिग धरहरा

(मै हु भन्थ्यो त्यो नाठे धरहरा )^ २
गर्भ गर्थ्यो आफ़्नै विशालतामा, आफ़्नै उचाइमा
पृथ्वी नारायणले चन्द्रागिरिबाट देखेको सुन्दर सहरलाई हेर्थ्यो
अनि सायद त्यहि डाडालाई पनि हेर्थ्यो
आफैमा ९० सालको इतिहास बोकेको, चढ्ने जो कोहिलाई इतिहास पढाउथ्यो
मै हु भन्थ्यो
यो उपत्यकालाई मैले देखेको छु भन्थ्यो
आफैलाई के ठान्छस्, तँ त आउछस् जान्छास्
शताब्दीदेखि मैले हेर्दै आएको छु यी गल्लीहरुलाई भन्थ्यो
देशसंगै हासेको, चाडपर्बमा नाचेको अनि देशको क्रान्ति देखेको सुनाउथ्यो
अनि देशवासी गल्दा सुक्दा मलाई नै हेरेर अडिग रहन सिक्छ भन्थ्यो
तर आज…
आज उसलाई थाहा थियो सायद यो भयाभहको
र त आफै पहिल्यै ढल्यो
संगै कतिका सपनाहरु थिचेर गयो
आढ़को उचाईमा रमिरहेको त्यो, यथार्थको धरातलमा गिर्यो
हजारौ लाश हेर्ने शक्ति कहाँ बाकि रहयो र उसमा
लाखौको मन गलेको हेर्ने शक्ति कहाँ बाकि रहयो र उसमा
देशबासीको मनको डर, अनि आखाको आशु
त्यो कहिल्यै नमेटिने स्मृति
कसरी सक्थ्यो र ऊ हेर्न, मनभरि बोकिरहन
र त ऊ आफै पहिले गल्यो, ढल्यो, आफ़्नै इतिहास मेटायो
शक्ति थिएन सायद उसमा पशुपतिको मुर्ति निर्लज्ज भै यो दृश्य हेरिरहेको हेर्न
र त म जस्ता लाखौलाइ त्रसित छाड्यो, एक्लै
सहरमा गल्लीहरुमा, भत्केका घरहरुमा, साम्य भएका गाउहरुमा
हिजोसम्म जीवन बोकेको गाउ सहरलाई कहाँ लग्यो कुन्नि
अब छाड्यो यो बिरक्तिएको मसानघाटमा
हरेकमा शरिरबाट आशा बिलाएको, खै यो बिचित्र अलकापुरीमा
तर ऊ के जान्दथ्यो …
यी भग्नावशेषबिच पनि फूल फुल्दछ भनेर
उसलाई निर्लज्ज बनाई त्यो शिशु कति मज्जाले हास्छ भनेर
समयसंगै वसन्त फेरी फर्कन्छ भनेर
अनि आशाका मुनाहरु फेरी तुसाउछ भनेर
डरपोक हैन, अबको पालि अडिग धरहरा बन्छ भनेर।