Wednesday, July 2, 2014

छोटो यात्रा (भाग २ )

भाग २ 

घामको रापिलो किरण आखामा रोपिएपछि आखा तिर्मिराउदै उठ्ने दिन थिएन। रातभरिको सपना, कहिले कता पुग्छु कहिले कता। म आफै अर्थ लगाउन सक्दिन ति दृश्यहरुको। स्पष्टसंग सम्झना पनि छैन - कता पुगे पुगे। उठ्दा भने यहि बेडमा रहेछु, थोरै खुशी लाग्यो। मेरो बेड छेउको त्यो हरियो मणि प्लान्ट, आज पनि त्यहि छ।  सात वर्ष पहिले पनि, र आजको यो पलमा पनि।  सधै स्थिर। न कुनै खुशीको भाव न कुनै बेदना। न कसैप्रति रिस, न कसै प्रति माया।  आफ्नो एउटा ठाउँ रोजेको छ, बश त्यसैमा बिलप्त छ। अनि म, यो सात वर्षको अन्तरालमा कता कता पुगिन? सम्झदा एउटा सपना लाग्छ। 

घमाइलो दिन थिएन।  झ्यालका सिसाको पारदर्शीतालाई चुनौति दिदै कुहिरो ढप्प लागिरहेको छ।  म बाहिर केही देखिरहेको छैन।  जाडोको यो समयमा थोरै जिउ तन्काउदै फेरी यही सिरकभित्र पस्न मन भइरहेछ।  सिरकभित्र नै जुग्मुटिएर म भन्छु, "ओहो, कति जाडो  … " आफैले आफैलाई जाडोको आभास गराउदै छु।  यो ठण्डीको आभास दिलाउन बाहिरका कुहिरोका फोकाहरु थोरै सल-बलाउदै छन्। बिहानीको यो समयमा पारि त्यो वनको पल्लो भागबाट घाम झुल्किदै गरेको दृष्य हेर्न मन थियो।  हरिया रुखहरु माझबाट सुर्य सुस्तरी प्रकाश छर्दै माथि उक्लदाको दृष्य साच्चै नै मनमोहक लाग्दथ्यो मलाई। तर प्रकृति मेरो पक्षमा छैन आज। यो मौसम मसंग मेरो जागर खोस्दै छ। म सिरकभित्र कुकुर डल्लो परेर निदाएझैँ गुटमुटिदै छु।  कुहिरोको त्यो बादलहरुलाई मेरो अल्छीपन भगाई लैजानको लागि अनुरोध गरिदिन्छु। तर मेरो अनुरोध कुन समयमा स्वीकृत हुने हो, त्यतिन्जेल सम्मको लागि भने कसैले मलाई जगाउने प्रयत्न गर्ने छैन। म आरामले निदाइदिन्छु। 

माथि कौशीसम्म पुगेको लहरे फूलको बोटभित्र लुकेका भंगेराका चिरबिर आवाजमा म जुरुक्क उठेर सिरानीलाई पछाडि अधेस लगाएर बस्छु। घडीमा १०:०० बजेको देख्दा मेरो ओठमा लज्जास्मद हासो सजिन्छ।  प्राय कमै सुत्छु म यतिञ्जेलसम्म। तर आज…  यस्तै पर्यो, सुते मस्तले। एक्लै मुस्काउदै झ्यालछेऊमा आइपुगेको त्यो लहरेफूललाई नियाल्छु। भंगेराहरू यता - उता उफ्रिदै खेल्दै रहेछन। एक आपसमा जिस्किदै, फूलहरु माझ नाच्दै। मेरो अल्छीपनालाई सायद मजाक उडाउदै छन्। म टाउको थोरै बंग्याएर हेरिरहन्छु।  यो क्षण , यो पल  … म बाचिरहेको छु, मलाई थोरै शङ्का लाग्छ। होइन, यो मेरै समय हो, म आफैलाई सम्झाउछु।  यहाँ, यी भंगेराहरू माझ, यो लहरे फूलका हरिया पातहरु माझ, कोठा वरिपरि घुमेको मणि-प्लान्ट माझ म बचिरहेको छु।  आफैले आफैलाई विश्वास दिलाउन खोज्दै छु।  बितेको समयलाई नियालेर हेर्ने हो भने आजको यो दिनको कल्पना गर्न गाह्रो थियो।  आज यसरी यहाँ  … म फेरी पुग्छु, फेरी यी हरिया पातहरुमा हराउछु  … भंगेरासंगै बिहानी सजाउछु  … पूर्णत कल्पना बाहिरका कुरा थिए। 

अब त कुहिरोको बादलहरु पनि हराउन थालेछन।  भोलि भेट्न आउछु भनेर बाचा त गरेनन् , तर पक्कै पनि भोलिको बिहानमा पनि आउनेछन।  घामको किरण तेजिलो हुन थालेको छ।  शरिरमा मैले थोरै जागर पुनर्जागरण गराउनु पर्नेछ।  दिनभरि म यसरी सिरकभित्र रहेर दिनलाई ब्यर्थ जानदिन सक्दिन।  एक्कासी शरीरमा शक्तिको संचालन भएसरि सिरकलाई सुरुक्क एक कुनामा फालेर म आफैलाई ताजा बनाउन दौडिन्छु। बाथरूमतिर लाग्दा-लाग्दै सम्झिन्छु  … आज त कसै कसैलाई भेट्न जानु थियो।  तर केहि छैन, पुरा दिन छ मसंग।  कुनै हतार छैन।  त्यहि हतारै हतार देखि वाक्क लगेर म यहाँ आएको।  फेरी यहाँ पनि हरेक कुरा हतारै हतारमा गर्नु पर्यो भने यहाँ रहनु र वहा रहनुको के फरक भयो र? आफ्नो सुस्तपनालाई प्राथमिकता दिदै म यहाँ रहनुको अर्थ त लगाइरहेको छैन? खैर, जे भए पनि मसंग पर्याप्त समय छ।  कुनै परिधिमा बाधिएको छैन म।  पूर्णतया स्वतन्त्र छु।  हास्यास्पद कुरा हो, म मेरो स्वतन्त्रताको "सदुपयोग" अबेरसम्म सुतेर गर्दैछु।  

खानपिन भइसकेपछि ठाँटिएर आजफेरी म सहिदगेट जाने गाडी समात्छु।  कुनै समयतालिका नै नभएको हाम्रो माइक्रोबस व्यवसायी समितिको गाडी चढेर कुन समयमा गन्तव्य स्थलमा पुग्छु भनेर निचोड निकाल्न सकिन।  साचो भन्ने हो भने कुनै गन्तव्य बोकेर यात्रामा हिडेको थिएन म। यो लामो अन्तरालमा मैले काठमाडौँको झलकहरुलाई मानसपटलमा फेरी जागृत गराउनु थियो। कति कुरा बिर्सिसके।  अरुको बारेमा, काठमाडौँको बारेमा।  थोरै हदसम्म आफ्नै बारेमा।  आफ्नै कति कुराहरु बिर्सिदा भने थोरै दुख्ख लाग्छ।  परिस्थिति जस्तो सृजना भएपनि मानिसले आफ्नो वास्तविकता भुल्नु हुदैन, बुवाको यो कथन सधै सम्झिन्छु। गाडीको अन्तिम सिटमा गएर बस्दा पहिलेका दिनहरुको थोरै झल्को आयो। अन्तिम सिटमा बसेर गाना सुन्दै झ्याल छेऊबाट म काठमाडौँ नियाल्थे।  काठमाडौँ मलाई नियाल्थ्यो या नियाल्थेन, म जान्दिन।  गाडीभित्र रहेका सम्भबत सबै अनुहारहरुलाई एक एक गरि नियाले।  कुनै संस्थाको लागि लुकिछिपी जानकारी दिने विशेष सरकारी कर्मचारी त होइन  … मानिसहरुले शङ्का गरे होलान।  ती मानिसहरु माझमा एउटा न एउटा त परिचित अनुहार भेतिन्छा होला भन्ने आशा थियो मनमा।  तर यो शहर, साच्चै परिवर्तन भएछ।  यहाँ बस्ने मानिसहरु सबै नया भएछन।  चिन्नै गाह्रो पर्यो मलाई कसैको अनुहार पनि।  सानो छदा देखेका अनुहारहरु अब तरुना तरुनी हुदाको अनुहार, त्यहि नै हो भनेर ठम्याउन नसक्दा मैले कसैसंग पनि बोल्ने आट  गरिन। फेरी एक्लै पछाडि त्यहि सिट, झ्याल छेऊको सिटमा बस्दै काठमाडौँ नियाल्दै हिडे। ब्यस्त यो सहरको ब्यस्त यहाको सडकमा हुने जाम, कुनै नौलो कुरा भएन।  जति चर्चा गरे पनि नसकिने।  यहाँ पनि चर्चा गर्न थाले भने एउटा छुट्टै पुस्तकनै बन्ला भन्ने पीर लाग्छ। बागबजारमा ओर्लिएर फेरी त्यहि पुतलीसडकको पेटीमा घुम्न थाल्छु।  वरिपरि नियाल्दै, नया परिवर्तनलाई आखा लगाउदै  … म आफ्ना पाइलाहरु सुस्तरी अगाडि बढाउछु। भृकुटी मण्डप अगाडिको दृष्य निकै हास्यास्मद लाग्छ मलाई।  ठिक अगाडि नै फोहोरको डुंगुर, एकदमै दुर्गन्ध आउने गरि  … अनि फेरी भृकुटी मण्डपको गेटमा लेखिएको थियो , " Fun Park" ... उफ  … साच्चै नै फन पार्क रहेछ।  अगाडि विश्व भाषा क्याम्पस, रत्न राज्य लक्ष्मी क्याम्पस, नेपाली प्रहरी एकेडेमी  … अनि छिमेकी त्यो फोहोरको डुंगुर  … साच्चै साच्चै नै "Fun Park " छ हाम्रो पद्मोदयको बाटो। 

फेरी त्यहि पेटी, त्यहि सडक।  तर प्रत्येक पल्ट नियाल्दा आखामा आउने अनुहारहरु नया।  प्रत्येक अनुहारमा व्यस्तताको झल्को।  सबैलाई हतार छ।  के को ? कोहि जान्दैनन्।  समय त आफ्नै गतिमा चलिरहेको छ।  तर यो मानव समाज समयलाई जित्न दौडिरहेछ।  मपाइत्वको श्रीपेज सजाएर प्रगतिको बाटोमा दौडिन प्रयत्न गर्दैछ।  सबैलाई सफलता हासिल गर्नुछ।  खुड्किलो उक्लनु छ सबैलाई जिन्दगीमा।  सारा संसार आर्थिक तवरमा दृत गतिमा दौडिरहेको समयमा सायद हामीलाई पनि केहि कदम अगाडि बढाउन इच्छा लागिरहेछ। फेरी पनि यो सहर सधै यतिकै ब्यस्त रहन्छ। आर्थिक लोभको कारणले , व्यवसायको कारणले  … अरु पनि हुन सक्दछ। व्यस्तताको भिडमा म फुर्सदिलो मान्छे।  सबैलाई पालो दिदै भिडबाट बिस्तारै बिस्तारै अघि बढिरहन्छु। घाम त्यति रापिलो नभएकोमा मलाई गाह्रो लाग्दैन।  

"आजको दिन सहि छ यार। शितल भैराछ।  सधै यस्तै मौसम भइदिए हुने है  … ", जीवन बोल्छ। 
"त्यहि त है।  सधै यस्तै मौसम भए त त का हामीसंग हिड्थिस, कता पार्कतिर तरुनीसंग हुन्थिस होला  … ", आखा सन्काउदै म जिस्काउछु। 

म मुसुक्क हास्छु।  हासोको अर्थ लगाउन साथमा कोहि थिएन। पहिले त्यहि बाटोमा संगै हिड्दा जीवन र मेरो बीच हुने बार्तालाब।  विगतको एउटा झल्को, त्यहि नै काफी रहयो न्युरोड गेट आइपुग्दा सम्म मेरो ओठमा हासो सजाउन। 

गेट अगाडि उभिएर चर्तिकला देखाउदै गरेको पागललाई हेरेर हाम्रो काठमाडौँका आधुनिक सभ्य समाजका मानिसहरु गलगल हास्दै थिए। मेरो ओठमा पनि मुस्कान छाइरहेको थियो। तर मेरो मुस्कानको कारण एउटा मिठो सम्झना थियो। फेरी पनि त्यहि मुस्कान त्यो भिडको बिचमा गएर मिसिदा भने मलाई अप्ठ्यारो लाग्यो।  यो सभ्य समाजको उदाहरणको रुपमा म आफै पनि उभ्याइसकिएको थिए। छिनमै मनमा चिसो पस्यो।  एउटा पागल यसरी  सहरको बिचमा प्रस्तुत भइरहदा के हामीले हासोमाथि हासो थपेर आफ्नो सभ्यता प्रस्तुत गरिरहेका छौ? कामको व्यस्तता र कोहि कसैको लागि दिनभरी काम नपाएर थोरै हस्नको निम्ति ति पागल्हारुको सदुपयोग गर्नु सभ्यताको अर्को नमुना हुन सक्दछ। मानव समाज जति जति सभ्यता र आधुनिकताको खुड्किलो चढेको महसुस गर्दछ, झन् झन् मानबिय समबेदना र सामाजिकरणबाट विभाजित भइरहेको छ।  यो अचम्मको सभ्यताले मनावमात्रको समाजको कल्पना सिकाएको छ।  मानवमात्रको समाजभित्र पनि आफूमात्रको संसार। सामाजिक जमघट र पहिचानबाट बाहिरिएर मानिस स्वार्थी बन्दै गइरहेको  छ।  म आफै एउटा उदाहरण हू।  त्यो भिडको हासो रोक्न म केहि गर्ने वाला छैन।  त्यो पागल, त्यो जमातको निम्ति एउटा अत्यन्तै हास्यास्मद चुट्किला सरह प्रस्तुत भइरहने छ। सबैचिजको लागि पैसा तिर्नु पर्ने यो शहरमा मुफ्तमा हास्न मिलिरहेको छ।  निश्चय पनि यो समाजले त्यसको भरपुर फाइदा उठाउने छ।  तर म के गर्न सक्छु? मेरो खालि उदाङ्ग दिमागलाई ब्यस्त राख्न यिनै कुराहरु खेलाउन सक्छु, सभ्यता र असभ्यताको बारेमा थोरै डायरीमा लेख्न सक्छु।  नतमस्त भएर म हिदिनै रहन्छु।