भाग १
पुतलीसडकको यो पेटीमा हिड्दै गर्दा उसलाई भेटिन्छ होला भनेर कहिले पनि सोचेको थिएन। मानवमात्रको यो कोलाहलमा यात्रीहरुको अनुहारहरु नियाल्दै जादा उसको अनुहार एक्कासी देखा पर्छ भनेर न उसले सोचेकी थिई, न मैले। नसोचिएको कुरा नै बढी हुन्छ जीवनमा। आज पनि सम्झिन्छु आदित्य भन्ने गर्थ्यो, "आशा नगरिएको कुराको आशा गर - expect the unexpected." सायद सत्य त्यहि नै हो। अनुहारमा एक किसिमको भाव प्रकट भयो, खुशीको, सायद अचम्मको। अनि उनका नयन बोल्दै थिए … यो हुनै सक्दैन। म उसको सामू जिउदो जाग्दो खडा छु भनेर उसलाई विश्वास दिलाउन, अझ भनौ उसले विश्वास गर्न थोरै समय लाग्यो। हातले आखा छोप्दै थोरै मुस्कुराई। आकाशको कालो बादलले घामलाई छेकेको बेला उसको त्यो मुस्कानले सारा पुतलीसडकका गल्लीहरु उज्यालो भएको भान भयो। सबैभन्दा पहिलो, मुस्कानको प्रभाव मेरै अनुहारमा परेछ। … ओहो … त्यहि मुस्कान… जिवन्त हासो … साच्चै … साच्चै नै … मैले भन्ने गरेको "जिवन्त हासो" … त्यो मुस्कानमा कुन्नि के जादु छ? … घत लाग्यो मलाई। थोरै मुस्कुराए।
"मुस्कुराउनुको कारण ?", मैले फ्याट्ट सोधे। सोध्न नहुने प्रश्न थियो। कल्पना नगरेको व्यक्तिसंगको यो आकस्मित भेट.… साच्चै नै यो अच्चमको कुरा थियो। मेरो निम्ति हर्षको कुरा थियो। उनको निम्ति नि ? … सायद हर्षको नै थियो, त्यहि भएर त मुस्कुराई। त्यो थोरै घामले डढेको जस्तो अनुहारमा सेता दन्त-लहर देखाएर मुस्कुराई।
" यो भेटमा तिमीले यो प्रश्न सोध्न उचित छ? " उसको प्रश्नमाथि प्रश्न गर्ने बानी उदाहरण दिएरै प्रस्ट गरि। दोहोरो प्रश्न गर्ने ममा आट भएन।
"स्वतन्त्रताको फाइदा उठाउनुस। तिमी स्वतन्त्र नारी हौ।"
"पहिलो भेटमै यसरी पुरुष र नारीको अन्तर्द्वन्दलाई प्राथमिकता दिन्छौ होला भनेर आशा गरेको थिईन मैले। आपसमा बहस गर्न हामी यो भन्दा अर्को राम्रो ठाउँ र समय भेट्छौ होला। हिड मेरो अफिसमा गएर कुरा गरौला।"
पहिले एउटा कन्सल्त्यन्सिमा काम गर्थि। आजभोलि कता गर्छे, मैले सोधेको छैन। अबको केहि छिनमा थाहा भइहाल्छ। म खुरुखुरु उसको पछि लागे। उसले मलाई दोहोर्याइ, आज ऊ मेरो पथप्रदशक बन्दै छे। ब्यस्त सहरका ब्यस्त मानिसहरु माझमा यता उता ठेलमेल गर्दै म उसको पछि लागे। आजको दिन संगै हिड्न मन थियो। तर यो सहर ईर्ष्या गर्छ। विशेष गरेर यी पुतलीसडकका पेटीहरु। अनि यो अफिस आवर। दुइ जनासंगै जोडिएर हिड्नको निम्ति कहाँ ठाउँ पुग्छ र? पछि पछि लागे। छेवैको रेस्टुरेन्ट र होटेलहरुमा खाजा पाक्दै थिए। कहिँ कुनै कुनाबाट म:मको बासना पनि आउदै थियो। म:मका ति मुझाहरु भित्र पनि एउटा सम्झनाको पुस्तकनै मुझा परेको छ। त्यो पल मैले खोल्न चाहिन। मुझा खोल्ने क्रममा फेरी म धेरै पछि पर्छु कि भन्ने डर भयो। मैले आफ्नो ध्यान मोडेर उसलाई भेट्टाउन केन्द्रित गरे र उसकै पछि दौडे।
१५ मिनेटको हिडाई पछि बल्ल उसको अफिस आइपुग्यो। कुनाको सोफामा बस्न अनुरोध गरेर ऊ खै कता गायब भइ। बाहिर थोरै घाम झुल्किन थालेछ। दिन केहि हदसम्म मनोरम हुन्छ कि भनेर आशा गर्न सकिन्थ्यो। मिल्छ भने आजको दिन चाडै नै छुट्टि लिन अनुरोध गर्नु पर्ला। बदामको पोका बोकेर बात मार्न टुडिखेल खालि छदै छ। होइन भने दरबार स्क्वायरमा पनि हाम्रो लागि थोरै ठाउँ मिलिहाल्छ होला। आजको दिन भने थोरै हदसम्म सम्झन लायक रहने भयो - मनमा कुराहरु खेल्दै थिए। ऊ टुप्लुकिई। आउने बित्तिकै हाजिर गर्नु पर्ने, हाकिमको अगाडि देखा पर्नु पर्ने, इत्यादि "कर्तव्य " मानिएका फर्म्यालितिहरु पुरा गरेर आईन, मनमनै सोचे।
"अनि के छ त? कहिले आयौ? खबर पनि गरेनौ। अचानक, आज यसरी, यो रुपमा? मैले सपनामा पनि सोचेको थिईन। सर्प्राइज हो भने, तिम्रो यो सर्प्राइज दिने तरिका मन परेन। किन यस्तो निष्ठुरी भएको? ", अलि कडक स्वरमा भनि।
" निष्ठुरी" शब्दको प्रयोग भएको मलाई थोरै हासो लाग्यो। नारी- नारीबिचको बार्तालाभमा धेरै प्रयोग हुने शब्द हो यो। पुरुष र नारीको बार्तालाभमा पनि प्रयोग भएकोमा भने मलाई थोरै हासो लाग्यो। नारीहरु किन यो शब्दको बढी प्रयोग गर्छन? सोच्दा सोच्दै फेरी हासो लाग्यो।
"मेरो प्रश्नमा कुनै हास्य - व्यङ्ग्य चुटकिला त मिसिएको छैन नि? ", अचम्म मान्दै उसले सोधि।
" छैन छैन। यसै हासो लाग्यो। लाइसन्स त चाइदैन नि?"
"चाहिदैन चाहिदैन। मज्जाले हास्दा हुन्छ।"
"धन्यवाद। हासोको लागि स्वीकृति दिएकोमा। गाह्रो छ आजभोलि केहि कुराको स्वीकृति पाउन पनि।"
"ल छोड, त़ी आधारहिन कुरा गर्न। प्रश्नको उत्तर देऊ।"
ओहो! आजभोलि त निक्कै परिवर्तन भइछे। विषयभन्दा बाहिर जान चाहदिनछे। सायद व्यवहारिक भइछे। अनि ब्यवसाहिक पनि।
" अ अ.… यसै। आउन मन लाग्यो, आए। कुनै मन्त्री वा प्रधानमन्त्री त होइन नि म। सबैलाई जानकारी दिइरहन आवश्यक ठानिन। त्यसैले धेरैलाई खबर गरिन। वश, आए।"
" ओ.… आवश्यक ठान्नु भएन हजुरले? अनि फेरी विशेष गरि त मलाई … के खबर गर्नु? हैन त? महान हुनुहुन्छ हजूर ।"
आफ्नो रिसलाई यो उच्चार्थी भाषामा समाहित गर्ने यो उसको बानी, मलाई अप्ठ्यारो लाग्यो।यो पहिलो भेटमै बहस गरिरहने कुरा भएन। आफ्ना बाध्यता र अप्ठ्याराहरु आफ्नो ठाउमा छदै छन्। "किन बुझ्न खोज्दिनौ?" भनेर झपार्न मन लागिरहेको थियो। तर पहिलो भेट.… मैले बिर्सनु हुन्नथ्यो। थोरै मुस्कुराए। सायद त्यो मुस्कानमा पनि मेरो "महानता" झल्किरहेको थियो। अनि शान्त भएर भने ," अलि त्यस्तै पर्यो। "महान" मान्छेको कुरा बुझिदेऊ न, प्लिज।"
अब हास्ने पालो उसको। मस्तले हासी। अब चाहि पुरै घाम झुल्केझैँ लाग्यो। अफिस बाहिरको त्यो सूर्यमुखी पनि मुस्कुराउदै रहेछ। मलाई घत लाग्यो। ट्वाल्ल परेर हेर्दै हास्दै बसे। सायद यहि हो, मैले चाहेको मुस्कान। यहि हो मैले खोजेको नारी । मनमनै प्रफुल्लित भए।
"ल हेर केटा मान्छे भएर पनि.… यसरी झुक्नु पर्दैन।" रिसाए जस्तो गरेर मेरो परिक्षा लिएकी रैछे। "म त मजाक गर्दै थिए। तिमी पनि.… साच्चिकै पो सिरियस हुन थाल्यौ।"
उफ़… उसको यो मजाक गर्ने बानी। पहिले म उसलाई यसरी नै नाटक गरेर, रिसाए जस्तो गरेर मजाक उदाउथे। आज बदला लिई। ठिकै छ। तर यो भेटमै? मेरो दिमागले त्यहाँसम्म सोच्न भ्याइसकेको थिएन। आजको दिन सम्झिनको निम्ति अर्को एउटा पनि कारण भयो। बिर्सने त कुरै भएन।
"ल ल.… ठिकै छ। हाल-खबर सुनाउ आफ्नो।"
"ठिकै छ। देखिहाल्यौ, यहि अफिसमा काम गर्दै छु। जीवन एक प्रकारले ब्यस्त छ। मैले व्यस्ततालाई अंगाले या मलाई व्यस्तताले अंगाल्यो, सोचेको छैन, सोच्न भ्याएको छैन सायद। समय बितिरहेको छ। आफ्नै गतिमा भन्दा पनि अझ तेज गतिमा भनौ। वश, म त्यहि समयको गतिलाई पछ्याइरहेको छु। अनि आफ्नो नि?
"बाचिरहेको छु। ब्यस्त जिन्दगीलाई पछाडि छोडेर, थोरै फुर्सद निकाल्ने प्रयास गर्दै छु। नत्र यो पुतलीसडकको पेटीमा आवारा भएर हिड्न कसलाई फुर्सद हुन्छ? आफूमै भर पर्ने कुरा रहेछ, ब्यस्त हुने कि फुर्सदिलो हुने भन्ने। अरु सबै आरामै छ भन्दा हुन्छ।"
कुन बेला चिया अडर गर्न भ्याइछे? चिया आइपुगिसकेछ। अब व्यवसायिक भइसकेपछि त्यति चलाख त हुनु परिहाल्यो। नत्र अफिसमा आउने मानिसहरुलाई कसरि रिझाउने? व्यवसायिक समाजका व्यवसायिक कर्मचारीहरु। तर म कुनै ब्यापार, व्यवसायको उधेश्यले त्यो अफिसभित्र प्रवेश गरेको थिएन। मलाई कुन उधेश्यले चिया पिलाउदै छे? व्यवसायिक कर्तब्य पालना गर्दै छे या मित्रताको संकेत दिदै छे?फेरी पनि बेकारमा चिया बनाउनेलाई काम थपिदिए जस्तो लाग्यो।यो खाना खाने समयमा यसरी चिया खानु अनि उचित लागेन। फेरी खाएन भने पनि ठुलो मानिस ठहरिनु पर्ने भनेर सोच्लि। नारी हुन्, जे पनि सोच्न सक्छे। ठिकै छ, खाइदिन्छु। सुरुप्प ताने। चिया खाउन्जेल ऊ केहि बोलिन। मलाई पनि केहि बोल्ने मन भएन। कोठा केहि पलको निम्ति शान्त भयो। बाहिर फेरी बादल लागे जस्तो थोरै अध्यारो भयो। सूर्यमुखी फेरी ओइलाएछ।
"अनि, अब कति बस्छौ त यहाँ ?"
"आउन नपाई पठाउन हतार जस्तो छ नि मलाई त?"
"मेरो नियन्त्रणमा छैन तिम्रो आउने जाने। आउने बेलामा त केही खबर गरेनौ, अब जाने बेलामा पनि खबर गर्छौ जस्तो लाग्दैन मलाई। फेरी पनि प्रश्न गरे, उत्तर दिने नदिने तिम्रो रोजाई। "
"धेरै बस्दिन। तर छिट्टै गइहाल्दिन। जाने बेलामा तिमीलाई खबर गरौला। "
एक प्रकारको आनन्द छायो उसको अनुहारमा। ऊ के चाहन्छे मबाट ? म बुझ्न सक्दिन। नारी ! प्रश्नै प्रश्नको ज्वालामुखी हो। उत्तरको अपेक्षा गर्ने गाह्रो। के चाहन्छे ? के गर्छे जीवनमा? कसलाई रोज्छे? किन साना साना कुरामा भावुक हुन्छे? प्रश्नहरुको ओइरो लाग्छ। तर जवाफ़… शब्दमा कहिल्यै दिदैनन्। आफै मुल्यांकन गर्नु पर्छ। उसको मुस्कानको, कोरिएका शब्दको। त्यसैले त होला पुरुषहरु "बहुलाउने" … नारीको पछि लागेर। मलाई त्यहाँ धेरै बेर बस्न अप्ठ्यारो महसूस भयो। काम गर्ने ठाउ, फेरी ब्यस्त मान्छे। भोलि भेट्ने बाचा गरेर म त्यहाँबाट निस्कन्छु। दिनभरि ऊसंग बिताउने मनको योजनालाई त्यहि अफिसको दस्तबिनमा मिल्काइदिञ्छु। मुस्कानका साथ मलाई बिदाई गर्छे। त्यहि मुस्कानको अर्थ लगाउन आएको म, त्यहाँ देखि … ह … म यो के सोच्दैछु। आफैभित्र द्विविधाको परिस्थिति सृजना भएको पाउछु। म निस्किन्छु, त्यहाँ बाट हात हल्लाउदै। बाहिर सूर्यमुखीमा थोरै उदासिनता छाए जस्तो लाग्यो। घामलाई छेक्न बादलहरु दौडिरहेका छन्। भोलिको दिनमा सूर्यमुखी हास्नेछ भन्ने आशा गर्दै सहिदगेटतिर लम्के। फेरी त्यहि भीडभित्र हराए। अपरिचित अनुहारहरुको माझमा मैले आफ्नो परिचय लुकाए।