Monday, May 6, 2013

खोक्रो बाचा

मनमा थुप्रै कुराहरु खेलिरहेको छ। मौसम आफैमा त शान्त नै छ । तर मन कता कता शान्त छैन। मनमा शान्ति भङ्ग गर्ने कैयौ पक्षहरु होलान्, कैयौ कारणहरु होलान्। विश्लेषण र आलोचनाका पहाडहरु नै होलान्। ति पहाडका लहरहरुका बाबजुत पनि मनको शान्ति भने फिर्ता आएको छैन ।  आज मात्र नभएर दुई -चार दिन देखिकै अशान्ति हो। मूल कारण के हो त भन्दा म आफै पनि जान्दिन। पढाइका बाधाहरु , भविष्यका बाधाहरु, अनि सायद मनमा कतै कुन्ठो परेर बसेका भावनाहरुलाई पोख्न नसक्दाका बाधाहरु। मनभित्र के लुकेर बसेको छ, त्यो पनि जान्दिन। मनको धड्कन पनि बढेको छैन। मन आफ्नै लहरमा, तवरमा धड्किरहेको छ। समस्या कहानेर छ, म जान्दिन।

हिजो राति मैले फेरी तपाइलाई सम्झे। पानी  परेको त्यो साँझ एउतै छातामूनि हामी दरबार स्क्वायरबाट निस्केको सम्झे। तपाइको घर जाने गाडी भेटिए पछि मात्र म आफ्नो गाडी खोज्न हिडेको सम्झे। ती पलहरुमा केहि विशेषता थियो, थिएन म जान्दिन। सबैले गर्ने काम हो। साँझको बेलामा आ-आफ्नो घर फर्किन सबैलाई हतार नै हुन्छ। सबैले आफ्नो गाडीको खोजि गर्छन। तर त्यो स्मृति मलाई हिजो विशेष लाग्यो। अथवा मैले त्यसलाई विशेष बनाए। त्यो कुनै सिनेमा चित्रको दृष्य हुन सक्थ्यो। तर त्यो मैले बाचेको स्मृति हो। म आफै एउटा पात्र भएको दृष्य हो। विश्लेषण दुनियाले गरेको हैन। मात्र मैले गरेको छु। तपाइले पनि गर्नु भयो जस्तो मलाई लाग्दैन, मैले अपेक्षा पनि गरेको छैन। मात्र त्यो पल विशेष लग्यो मलाई। छुट्टिने बेलामा तपाइलाई गालामा चुम्बन गरेको क्षण, फर्किदै नफर्किदै म आफ्नो बाटो लागेको क्षण, डरले हो, त्रासले हो, या घृणाले हो, या त अत्याधिक मायाले गर्दा हो, मैले पछाडि  फर्केर तपाइलाई  हेर्ने चेष्टा  गरिन। गहभरि आशु थियो थिएन, रसाएका थिए थिएनन्। त्यो पनि मैले ख्याल गरिन। तपाइको अनुहारको रङ्ग कस्तो थियो? मेरो चुम्बनमा लजाएको थियो, या आत्तिएको थियो? डर थियो सायद तपाइको अनुहारमा। न कुनै समबेदना, न कुनै क्रोध, न हासो , न रुवाई।। सायद रङ्ग बिहिन थियो तपाइको अनुहार। तर म के जानू ? मलाई वर्तमानभन्दा भविष्यको पर्खाइ थियो। मलाई टाढा भाग्नु थियो। धेरै टाढा। त्यो क्षणबाट, त्यो पलबाट। त्यो अनुहारबाट, त्यो आकृतिबाट। मलाई घृणा थिएन तपाईसंग, तपाइको आकृतिसंग या त तपाइको अनुहारसंग। आफैसंग डर थियो। आफ्नो दृढतासंग, आत्मशक्तिसंग। म जान्दिनथे कतिबेर आफैलाई रोक्न सक्थे। कतिबेर आखाको त्यो संबेदनशील ताललाई रोकि राख्न सक्थे। म कमजोर भइसकेको मलाई भाण भइसकेको थियो।
त्यसैले त म भांगे, त्यो पलबाट। त्यसैले त मैले हेरिन त्यो अनुहारलाई। त्यो तपाइको अनुहार हेर्ने इच्छा भन्दा मेरो अनुहारको भाव नदेखाउने इच्छा बलियो भयो। र त म हिडे। गन्तव्य निश्चित थिएन। म कति बलियो बनेर निस्किन्थे, म आफैपनि जान्दिनथे। यो ३ वर्षको अन्तरालमा बलियो भएको भाण भएको थियो। तर हिजो म निहत्था भए। त्यो पलको स्मरणमा मैले आफ्नो सम्पूर्ण वर्तमान बिर्से। विगतको सम्झनामा फेरी म एकपल्ट झुके। सरमले हो या मायाले, स्वच्छ भावनाले हो या अनपेक्षित एउटा लहरले गर्दा मात्र हो। म धेरै बेर टोलाइरहे, सोचिरहें । जीवनका अर्थहरू खोजिरहे। तपाइलाई सम्झिरहे। जीवनका दिशाहरू कसरी परिवर्तन हुन सक्थ्यो भनेर म सोचिरहें। सम्भावना न हो, कहिँ पनि पुग्न सक्थ्यो। जहाँ छु, त्यहाँ बसेर आफूलाई हेर्दा पनि नराम्रो ठाउमा आइपुगे जस्तो लाग्दैन। जीवनले नराम्रो दिशातर्फ मोड लिएको जस्तो पनि लाग्दैन। यात्राको सहजता पनि घटेको वा बढेको जस्तो पनि लाग्दैन। म हिडिनै रहेको छु। तपाई बिना पनि। म दौडिरहेको छु, समयसंगै। समयले मलाई कहिँ लछारेको छैन। म हासिरहेको छु। पल पल जिन्दगीका मजाहरु पनि लिईरहेको छु। जीवनको अर्थ बुझ्ने यात्रामा पनि मैले आफैले आफूलाई अगाडी उभ्याएको छु। फेरी पनि अभाब खड्केको छ। यो अभाब के को हो, म जान्दिन, म बुझ्दिन। सायद जिन्दगीभरि नै बुझ्दिन होला।सायद बाचुन्जेल, सोचिरहन्छु होला, सोधिरहन्छु होला। अनि खोजिरहन्छु होला। तपाइको विशेषता, तपाइको प्रभाव...के छ तपाईमा जो म अरुमा भेट्दिन, देख्दिन? के छ तपाईमा जो म अरुमा खोज्ने प्रयत्ननै गर्दिन? कसरी  तर्साउनु भयो तपाइले मलाई, अब म मतिर लम्किरहेको मायामा पनि विश्वास भेट्दिन?प्रश्नहरु यहि कतै घुमिरहन्छन। सायद कुनै दिन म भेट्छु त्यसको जवाफ। सायद कुनै दिन जित्छु म त्यो डरलाई, अनि आफैमा शक्ति थप्छु, बलियो हुन्छु। सायद म स्वीकार गर्छु मतिर लम्किरहेको त्यो छायालाई, त्यो मायालाई, त्यो सदभावलाई। सायद त्यो दिन म पूर्ण हुन्छु तपाई बिना पनि। सायद त्यो दिन म खुलेर तपाइको सामना गर्न सक्छु। अनि खुलेर आफ्नो हृदय तपाइको सामू खोल्न सक्छु र देखाउन सक्छु कि त्यो त्यहि हृदय हो जो अरु कसैको नाममा, मायाको सदभावमा बाचिरहेको छ, हासिरहेको छ। तर त्यो त्यहि हृदय हो जसले कुनै दिन तपाइको लागिमात्र बाच्ने बाचा गरेको थियो, सायद खोक्रो बाचा।
Photo Credit: makemoneythroughonline.com